हुम्ला,माघ १२ । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा बन्द हुँदै आएको छ। दुुई दिन लगातारको हिमपातका कारण सिमकोट विमानस्थलमा दुुई फिटभन्दा बढी हिउँ जमेपछि हवाई सेवा बन्द भएको हो।
मंगलबार बिहानबाट परेको हिउँ बुधवारसम्म नरोकिएपछि हुम्ला जिल्लाको हवाई सेवा बन्द हुँदै आएको सिमकोट बिमानस्थलले जनाएको छ। हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट कुनै पनि एयरलायन्सले सिमकोटका लागि उडान भर्न पाएका छैनन्।
विमानस्थलमा दुुई फिटभन्दा बढी हिउँ जमेको र बुधवार दिउँसोसम्म हिउँ पर्न नरोकिएका कारण उक्त हिउँ फाल्न सकिएको थिएन।
सोही दिन बेलुुका विमानस्थलमा जमेको आधा हिउँ फाल्ने कार्य भए पनि पूरा हुुन सकेको थिएन। बिहीबार बिहानैबाट विमानस्थलको हिउँ गाडीबाट पन्छाउने तयारी गरिए पनि गाडीमा समस्या आउँदा हिउँ फाल्ने कार्य हुन सकेन। अब गाडी सञ्चालनमा नआउँदासम्म हिउ फाल्ने अवस्था छैन।
जसले गर्दा अब हवाई यातायात कहिले सुचारु हुन्छ भन्ने यकिन भएको छैन। विमानस्थलमा जम्ने हिउँ फाल्नकै लागि एउटा हिउँ फाल्ने मेसिन दुुई वर्षदेखि विमानस्थलसँग रहँदै आएको थियो।