तुलसीपुर,माघ ७ । तुलसीपुर नगर जेसीजले निर्माण गरेको धारा शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
ग्रामीण बस्तीबाट आउने ब्यक्तिका लागि तुलसीपुर नगर जेसीजले धारा निर्माण गरेको अध्यक्ष केशवराज केसीले जानकारी दिए ।
जेसीजले निर्माण गरेको धारामा बटुवालाई पानी पिउन सहज भएको छ । पानी पिउन होटलमा जानुपर्ने र केही किनेर खानैपर्ने बाध्यतालाई जेसीजले धारा निर्माण गरेर सहज गराएको बबई गाउँपालिका–७ की पुष्पा रावतको भनाइ छ ।
तुलसीपुर नगर जेसीजले बजार घुम्न तथा कामका लागि आएका बटुवाका लागि विभिन्न दाताको सहयोगमा धारा निर्माण गरेको हो । धाराको शुक्रबार कार्यक्रम गरेर उद्घाटन गरिएको छ । धारा उद्घाटन गर्दै तुलसीपुर–५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बजार क्षेत्रका अन्य स्थानमा पनि सार्वजनिक धारा निर्माण र सञ्चालनका लागि सहकार्य गर्न तयार रहेको बताए ।
पहिलो चरणमा बसपार्क क्षेत्रमा सार्वजनिक धारा निर्माण गरेको र आगामी दिनमा बिपीचोकमा धारा निर्माण गर्ने प्रक्रिया शुरु गरिने उनले बताए । यसका लागि विभिन्न सामाजिक संघसंस्थालाई सहकार्य गर्न वडाध्यक्ष शाहले आग्रह गरे ।
कार्यक्रममा तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारीले जेसीजले गरेको कामको प्रशंसा गरे ।
जेसीजले निर्माण गरेको धाराका लागि संस्था मार्फत् निःशुल्क पानीको ब्यवस्था गरेको भन्दै बजार क्षेत्रका अन्य स्थानमा पनि सार्वजनिक धारा सञ्चालनका लागि कार्यसमितिले निर्णय गरेको बताए ।
तुलसीपुर नगर जेसीजले गरेको आग्रहलाई समितिले अवसरका रुपमा लिएको भन्दै अध्यक्ष भण्डारीले तुलसीपुर बजार क्षेत्रमा सार्वजनिक धारा निर्माण गरेर सञ्चालन गर्ने ब्यक्ति र संस्थालाई पानी निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
बजार आउने बटुवाले पानी पिउन होटलमा जानुपर्ने बाध्यता रहेको भन्दै यसको अन्त्य गर्न सबैले पहल गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष भीमबहादुर कँवरले स्थानीय जेसीजले समाजमा राम्रा र उदाहरणीय कार्य गरिरहेको बताए ।
धारा निर्माणका लागि स्व. ललितादेवी खनालको स्मृतिमा श्रीमान् दीनमणि खनाल, छोरा कान्तुराम खनाल र बुहारी ढाकाकुमारी खनालले एक लाख एक हजार एक सय ३९ रुपैयाँ तथा सम्पूर्ण माई.डि.एन.तुलसीपुरले सहयोग गरेका थिए ।
धाराका लागि वडा कार्यालयले जग्गाको ब्यवस्थापन गरेको थियो । तुलसीपुर नगर जेसीजका अध्यक्ष केशवराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा धारा निर्माण संयोजक शैलेन्द्रकुमार वलीले स्वागत गरेका थिए ।