
दाङ, माघ २७ । मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गरिएको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट उक्त होटेल बन्द गराएका हुन ।
२०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो।
तर, आर्थिक वर्ष २०७६ /७७ सम्मको बक्यौता, आर्थिक बर्ष २०७७ / ७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक बर्षको रोयल्टी समेत गरि ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपैंया नबुझाएपछि होटल र मिनी क्यासिनोको लाइसेन्स रद्द गरिएको हो ।
लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकायअन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न निर्देशन दिइएको छ।
ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ।
यसअघि क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराउन मन्त्री आलेले नै भूमिका निर्वाह गरेका थिए ।
याक एण्ड यतीको होटल वर्गिकरणस्तर र क्यासिनोको लाइसेन्ससमेत रद्द भइसकेको छ।

