
तुलसीपुर, माघ २० । नक्कली प्रहरीको सई बनेर सर्वसाधारणलाई लुटपाट गरेको अभियोगमा घोराहीबाट एक युवक पक्राउ परेका छन् ।
रातिमा प्रहरीको सई हुँ भन्दै घोराही उपमहानगरपालिका वडा नं. १५ आर्मी ब्यारेक नजिकको सडकबाट मार्सल पुन मगर र सञ्तोष खड्कालाई चेकजाँचको बाहानामा लुटपाट गर्ने घोराही १७ कर्जाहीका २५ बर्षीय छ्याक्ले भनिने अनिल पुन पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा रहेका पुनसहित अर्का एक जनाले एक्कासी पुन र खड्कालाई रोकेर आँफुहरु प्रहरीको सई रहेको भन्दै खान तलासी लिएका थिए । त्यसक्रमा अपशब्द प्रयोग गरि हातपात गर्नुको साथै मगर र खड्कामाथि लुटपात समेत भएको थियो ।
माघ १७ गते राति १० बजेतिर घोराही १५ आर्मी ब्यारेक नजिकको सडकमा आँफुहरु माथि भएको घटनाबारे मगर र खड्काले घरमा पुगेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।
प्रहरी प्रबक्ता रिजालका अनुसार त्यसक्रममा पुनसहितका दुई जनाले मगर र खड्काको साथमा रहेको नगद चार हजार र उनीहरुका मोवाईल समेत लुटेर लगेका थिए । । घटना अनुसन्धान गर्दै जाँदा पुनलाई पक्राउ गरिएको र अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।
फरार ब्यक्तिको खोजी भइरहेको प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन ।