
तुलसीपुर,माघ १८ । दाङको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निमार्णको काम ८० प्रतिसत जति पुरा भएको छ ।
नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख बिपिनकुमार श्रेष्ठका अनुसार हवाई इन्धन डिपो निमार्णको झण्डै ८० प्रतिशत काम पुरा भएको जानकारी दिएका हुन ।
‘स्टोरेज ट्यांक निमार्ण स्थल तयारी अवस्थामा छ,’ उनले भने ‘ ट्यांकको व्यवस्थापनका लागि स्टयान्ट,वालको काम पुरा भैसकेको छ ।’ अब एयरपोर्टमा प्लेनलाई रिफिलिङ गर्न जाने बाटोकोे माटो ब्यबस्थापनको काम बाँकी रहेको छ ।
प्रमुख बिपिनकुमार श्रेष्ठका अनुसार माटो पटानको काम अबको हप्ता दिनमा पुरा हुने छ । त्यस्तै अब एयरपोर्ट प्रवेशद्धारको दक्षिण तर्फ जमिन रिफिलिङ गरेर कालोपत्रे गर्ने काम बाँकी छ ।
२०७९ असार मसान्त सम्ममा निमार्ण कार्य पुरा गर्ने गरि ड्रागन एनसी फागुनन्द जेभी कम्पनीले गत साउन ४ गते काम सम्झौता गरि सकेको थियो ।

निगमका डाइरेक्टर भरत रेग्मीले डेढ करोडको लागतमा काम गर्ने गरि सम्झौता भएको जानकारी दिए ।
‘एक वर्ष भित्रमा इन्धन डिपो निमार्ण सम्पन्न गर्ने सम्झौता भएको थियो,’ रेग्मीले भने ‘तर नौं महिनामै काम पुरा गर्न निर्देशन दिएका छौं ।’
अबको डेढ÷दुई महिनामा रिफिलिङ ट्यांकको सबै काम पुरा हुने उनले अनुमान गरे ।
ठेकेदार कम्पनीले चैत्र महिनामै काम पुरा गरेमा नयाँ बर्षको बैशाख १ गते इन्धन डिपोको उद्घाटन गर्ने लक्ष्य राखिएको रेग्मीले जानकारी दिए ।
रिफिलिङका लागि आवश्यक मेसेनरी सामानहरु यसअघि नै आइसकेको उनले बताए ।
कम्पाउण्ड र अफिस भवनको लागि फाउण्डेशन लगाएतका काम पुरा भइसकेको उनले जानकारी दिए ।
टरिगाउँ एयरपोर्टमा भइरहेको इन्धन डिपो निमार्णको निरिक्षण गर्न निगमको प्राविधिक टोली आगामी साता दाङ आउने तयारी गरि रहेको निगमका डाइरेक्टर भरत रेग्मीले जानकारी दिए ।
