शिव राज खनाल, लमही, माघ ८ । लुम्बिनी प्रदेश भित्रका ट्रक यातायात व्यवसायीहरुले जोर विजोर प्रणालीमा ढुवानी कार्ड प्रयोग गर्ने निणर्य गरेका छन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको विहिवार र शुक्रवार रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघ संस्थाले आआफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानवाट गाडी सञ्चालन गर्ने निर्णय गरेको हो ।
राप्ती अञ्चल संयुक्त ट्रक ब्यकसाइक समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले महासंघले गरेको निणर्य कार्यान्व्यन नगर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दूर्घटना सुविधावाट बन्चित गरिने बताए ।
त्यस्तै भेलाले ईन्धनमा भएको मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।
सबै व्यवसायीहरुले नयाँ भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निणर्य गरिएको श्रेष्ठले जानकारी दिए ।
माघ २१ गतेदेखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत लोर्डिङ गर्ने व्यवस्था मिलाउने निणर्य भएको छ ।
भेलाले गरेका निणर्यहरुलाई कार्यान्वय गरे नगरेको वारे अनुगमन गर्न प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेको संयोजकत्व र वाणगंगा समितिका महासचिव लक्ष्मण भुसालको सहसंयोजकमा प्रदेशका सवै यातायात व्यवसायी संस्थाको प्रतिनिधित्व हुने गरी १३ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।
साथै उक्त भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्धय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित समेत गरेको छ ।
