दाङ, माघ ३ । सल्यानमा एक ब्यक्तिले श्रीमतीसंगको झगडा पछि आवेगमा आएर आँफैले पालेका एउटा गाई र गोरु मारेका छन् ।
सोमबार जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिस्नेरी ३६ वर्षीय शेरबहादुर महतरालाई प्रहरीले सोही आरोपमा पक्राउ गरेको छ ।
आइबार मध्यराति मदिराले मातेका महतराले श्रीमती संगको झगडा श्रीमतिलाई पनि आक्रमण गरेका थिए । श्रीमतिलाई हानेको कुटोको लबेदाले खुट्टामा चोट लागेपनि उनी रातिमै जंगलमा भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार श्रीमति र बालबच्चा भागेपछि रिसको झोकमा महतराले आँफैले पालेको एउटा गाई र गोरुलाई कोदालो टाउकोमा प्रहार गरि मारेका थिए ।
मारेका गाईलाई गाडी सेकेको र गोरुलाई गाड्ने तयारी गरिरहँदा प्रहरी पुगेर महतरालाई सोमबार नियन्त्रणमा लिएको डिएसपी खड्काले जानकारी दिए ।
यसैबीच जिल्ला अदालत सल्यानले सोमबार पक्राउ परेका महतरालाई दश दिनसम्म थुनामा राखेर घटना अनुसन्धान गर्न आदेश दिएको छ । उनलाई इलाका प्रहरी कार्यालय लहामको थुनुवा कक्षमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
