
तुलसीपुर, माघ ३ । दाङका विकाश पुन ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका छन् । सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पुनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
पुनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाका लागि काठमाडौंबाट दाङ ल्याइने भएको छ ।
कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको आरोपसहित दाङको घोराही १४ निवासी ४० बर्षीय पुन बिरुद्ध पुस महिनामा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
थापाले राप्ती नदीमा बालुवा, गिट्टीको काम गर्दा आफुले दिएको रकम फिर्ता नगरी भागेको जाहेरीमा उल्लेख गरेका छन् । थापाले गत बैशाख २६ गते पुन आफ्नो कपिलबस्तुस्थित घरमै पुगेर सापटी स्वरुप उक्त रकम लिएको थापाको जाहेरीमा उल्लेख छ ।
देउखुरीको गढवा गाउँपालिकास्थित राप्ती नदीबाट बालुवा गिट्टीको काम गर्न लागेको र त्यसबाट मनग्य आमदानी हुन्छ भनेर पुनले पैंशा सापटी लगेको भएपनि अहिलेसम्म फिर्ता नगरेको तथा सम्पर्क बिहीन भएको थापाको जाहेरीमा उल्लेख छ ।
पुन विरुद्ध ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा सर्बौच्च अदालतमा बिचाराधिन छ । दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ बर्ष कैदको फैसला सुनाएपछि उनले सर्बौच्चमा अपिल गरेका थिए ।
पुनले बिगत केही बर्ष यता राप्ती नदीबाट बालुवा गिट्टी उत्खनन् तथा निकासीको काम गर्दै आएका छन् । नेकपा एमालेका कार्यकर्ता पुनको आडमा एमालेका केही नेताहरुले समेत नदी जन्य पदार्थको उत्खनन् तथा निकासीको काम गर्ने गरेका थिए ।
