२०८३ मङ्सिर १० गते बुधवार

कोरोना परास्त गर्न ब्यक्ति स्वएंम सचेत हुन आवश्यक छ – प्रजिअ रेग्मी


तुलसीपुर, पुस २८ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्ति स्वएंम सचेत र सजग हुन जरुरी रहेको बताएका छन् ।बुधबार मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रिपोटर्स क्लब तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रअिज रिजालले जबसम्म ब्यक्ति स्वएंमले स्वास्थ्य मापदण्डको पालना गर्दैन तवसम्म कोरोना परास्त गर्न कठिन हुने बताएका हुन ।

‘ प्रहरी प्रशासन र सरकारलाई नालायक भनेर गाली गर्नु भन्दा ब्यक्ति स्वएंम आँफै लायक हुनुपर्छ,’ उनले भने ‘ मापदण्ड बनाउनु र कारबाही गर्नु प्रहरी प्रशासनको रहर हैन बाध्यता हो, माथिको आदेशको पालना हो । कोभिड नियन्त्रण गर्ने प्रयास हो । त्यसलाई सबैले सहज रुपमा स्वीकार्न जरुरी छ ।’

रग्मीले हरेक ब्यक्तिले ब्यक्तिगत आचरण र जीवन पद्धति सहज तथा सरल बनाउँदै कोरोनाको लडाईमा सघाउन अपिल पनि गरे ।
उनले पुसिल र जनताको बीचमा ग्याप रहेको भन्दै प्रहरीलाई देखेमात्रै मास्क लगाउने वा भौतिक दुरी पालना गर्न खोज्नुले जोखिम निम्त्याउन सक्ने बताए ।उनले सम्बन्धित क्षेत्रको बिज्ञको भनाई सबैले अनुसर गर्दै र सिक्दै जान जरुरी रहेको बताए ।

मंगलबारदेखि जिल्लामा मेला, भेला वा महोत्सवमा रोक लगाइएको उनले जानकारी दिए । ‘ केन्द्रको निर्देशन अनुसार हाललाई २५ जना बढी भेला हुन नपाइने नियम बनाइएको छ,’ प्रजिअ रेग्मीले भने ‘ तर, ब्यबहारिकता पनि हेरिने छ र दश जना मात्रै भएपनि स्वास्थ्य मापदण्ड पालना छैन भने त्यहाँपनि खबरदारी गरिने छ ।’

त्यस्तै प्रजिअ रेग्मीले तुलसीपुर क्षेत्रमा बिद्यार्थीमा समेत संक्रमन देखिन थालेपछि थप फैलन नपावस भन्ने उदेश्यका साथ तत्कालका लागि बिद्यालयको पठन पाठन बन्द गर्नु परेको बताए ।

१८ बर्ष भन्दा कम उमेरका बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप नलगाइ सकेको हुँदा संक्रमणको जोखिम रहेको उनले स्पष्ट पारे ।
प्रजिअ रेग्मीले तत्काल खोप लगाउने प्रबन्ध गरिने तथा अस्पतालहरुमा भेन्टिलेटरको समेत ब्यबस्था गर्ने गरि पहल हुने जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष सुशील बस्नेतले हरेक नागरिकको निरोगी भएर बाँच्न पाउने अधिकार प्रत्याभूत गराउन राज्य पक्ष थप जिम्मेवार बन्नु पर्ने आग्रह गरे ।

‘गणस्तरिय श्वास्थ्य सेवा पाउन नागरिकको नैसर्गिक अधिकार हो,’ बस्नेतले भने ‘ त्यो दायित्व पुरा गर्ने जिम्मा राज्यको हो ।’
स्थायी रुपमा होल्डिङ सेन्टर निर्माणको लागि पहल थाल्न सचेत तुल्याए । त्यस्तै ७५ बर्ष भन्दा माथिका जेष्ट नागरिकलाई पहिले बुष्टर डोजको ब्यबस्था गर्न उनले माग गरे ।

त्यस्तै दाङ जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले आफ्नो सुरक्षा आँफै गर्नका लागि सबैले स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरे । ‘ महामारीको समयमा सुरक्षाकर्मीको मात्रै मुख ताकेर नबस्नुहोस,’ उनले भने ‘ प्रहरीलाई देखे मात्रै मास्क लगाउने प्रबृतिले कोरोना संगको लगाई जित्न गाह्रो हुनेछ ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका बिपद ब्यबस्थापन समितिका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष नवराज लामिछानेले कोरोनाको नयाँ भेरिन्ट संग जुध्न पूर्व तयारी थालिएको जानकारी दिए । उनले हरेक नगरबासी समेत नयाँ भेरिन्ट संग जुध्न पूर्व तयारीका साथ बस्न आग्रह पनि गरे ।
आइसोलेसन निर्माण, अक्सिजन प्लान्टको ब्यबस्थापनमा नगर लागेको उनले बताए । पुस २८ गतेसम्म तुलसीपुरमा ५०० जनाको परीक्षण गर्दा १८७ जना सक्रिय संक्रमित फेला परेको भन्दै सबैलाई साबधानी अपनाउन उनको आग्रह छ ।

जिल्ला जनश्वास्थ्य कार्यालयका प्रतिनिधि डम्मरबहादुर कवरले कोरोनाबाट जोगिन हरेक नागरिकले आफ्ना आनीबानी र ब्यबहार परिवर्तन गर्न जरुरी रहेको औंल्याए ।

आफुले सार्वजनिक बसमा यात्रा गर्दा चालक र कन्डक्टरले समेत प्रहरी चेक प्वाइन्टमा मास्क लगाउने गरेको दृष्य धेरै देखेको भन्दै उनले मास्क प्रहरीका लागि नभइ आफ्नो सुरक्षाको लागि लगाउन आग्रह गरे ।

१८ बर्ष मुनिका किशोरका लागि खोप आउने भन्दै उनले बिद्यालय बिदाको समयमा धमाधम खोप लगाउन आवश्यक रहेको उनले बताए । त्यस्तै उनले बिदेश जानेहरुका लागि तुलसीपुर, घोराही र सिसहनियामा जेन्सन खोप लगाउने प्रबन्ध गरिएको जानकारी दिए ।
स्वास्थ्यकर्मी दोर्ण वलीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको योगा भवनमा कोरोना संक्रमितको उपचाको लागि ६० बेड तयारी अवस्थामा राखिएको जानकारी दिए । त्यसमा २० आइसोलेन बेड रहेको जानकारी दिए ।

पुस २८ गतेसम्म ९ जना संक्रमित भर्ना भएको पनि बताए ।उनले प्रादेशिक अस्पतालमा दैनिक ८० सिलिण्डर अक्सिजन उत्पादन हुने गरेको बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले सबै नागरिकले आफ्नो दायित्व निर्वाह गरे कोरोना संग जुध्न सहज हुने बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका उनले ब्यबसायीले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै ब्यापार गर्न आग्रह गरे ।
तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिनिल केसीले ब्यापारीले लापरबाही गरेको गुनासो सुन्नमा आएको भन्दै सबै ब्यापारीले ब्यापार गर्दै गर्दा आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरे । तुलसीपुर क्षेत्रमा बिद्यालय बालबालिकालाई समेत कोरोना देखिएको हुँदा त्यो चिन्ताको बिषय रहेको भन्दै उनले समयमै खोप, अस्पतालहरुमा भौतिक पूर्वाधार निर्माण, अतिआवश्यक उपकरण जडानमा राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमलाई तुलसीपुर चेम्बर अफ कमर्षका महासचिव बिष्णु भण्डारी, जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी कोरोना संग जुध्नका लागि सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताएका थिए ।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रम समाजका पूर्व जिल्ला सभापति शरद रेग्मीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समाजका कोषाध्यक्ष कमल डाँगीले गरेका थिए ।

दाङमा दैनिक कति अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ ?

१) तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा दैनिक ८० सिलिण्डर
२) सोनापुर सिमेन्ट उद्योगमा २८८ सिलिण्डर
३) राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २२०
४) गोग्लीमा १२० सिलिण्डर ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *