
तुलसीपुर, कात्तिक १२ । तुलसीपुरमा जारी प्रथम ‘हिरा डाँगी’ स्मृति कप खुला फुटबल प्रतियोगितामा तुलसीपुरको सक्शेस फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
‘हिरा फाउन्डेसन’ तुलसीपुरको आयोजनामा तुलसीपुर अरनीको खेल मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा रुकुम फुटबल क्लबलाई १ का विरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै सक्शेस फुटबल क्लबले सेमिफाइनल यात्रा तय गरेको हो ।
खेलमा सक्सेसका लागि जर्सी नं. ११ का अरुण चौधरीले पहिलो हाफ्को ९औं मिनेटमा गोलको खाता खोलेका थिए ।
उनले नगद दुई हजार पुरस्कार प्राप्त गरे । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी नं. १४ का सन्दिप चौधरी ‘म्यान अफ द म्याच’ भए । उनले ट्रफी संगै नगद एक हजार पाँच सय पुरस्कार प्राप्त गरे ।
त्यस्तै शुक्रबार दिउँसो भएको दोस्रो खेलमा टरीगाँउ युवा क्लब तुलसीपुर १२ प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
टरीगाँउले नवलपुर फुटबल एकाडेमीलाई ० का विरुद्ध ५ गोल गरेको थियो । खेलमा टरीगाँउका जर्सी नं. ९ का खेलाडी अर्जुन नेपालीले पहिलो गोल गरेका थिए । उनले नगद दुई हजार पुरस्कार प्राप्त गरे । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने जार्सी नं. ८ का लेखनाथ महर ‘म्यान अफ द म्याच’ घोषित भए ।
उनले ट्रफी संगै नगद १ हजार ५ सय हात पारे । प्रतियोगिता अन्तरगत शनिवार बिहान ७ बजे पछि हुने पहिलो क्वाटर फाईनल खेलमा युएनबिसी घोराही र बिआरडी फोर ब्रदर्स नवलपरासी भिड्ने भएका छन् ।
त्यस्तै दिउँसो साढे दुई बजे हुने क्वाटर फाईनल खेलमा साहारा फुटबल क्लब लखनउ र एसएसएफए तुलसीपुर आमने सामने हुने खेलका संयोजक केशब चौधरीले बताए ।