काठमाडौं, असोज १९ । सत्तारूढ गठबन्धनका बीचमा कुन मन्त्रालय कस्ले पाउने भन्ने बारे भागबन्डा लगभग मिलेको छ । नेताहरूबीच मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले अब काँग्रेसले सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने सहमति भएको छ । यसअघि कांग्रेसबाट गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री बनिसकेका छन् ।
यसअघि कांग्रेसले जम्मा सात मन्त्रालय पाउने सहमति गठबन्धन दलहरुका बीचमा भएको थियो । मंगलबारको बैठकबाट नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ । यसअघि नै माओवादीले अर्थ र ऊर्जा मन्त्रालय पाइसकेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले पाँच मन्त्रालय पाउने सहमति कायम भएको छ । जसमा रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय रहेको स्रोतले बताएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति कायम भएको छ ।
बुधबार मन्त्रिपरिषद बिस्तारको तयारी गरिएको छ । गत असार २९ मा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि रहेका थिए ।