
काठमाण्डौ,मंसिर ११। दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफान आएको छ । तुफानका कारण दक्षिण भारतमा भारी वर्षा र तीब्र गतिमा हावा चलिरहेको छ ।
दक्षिण भारतको तमिलनाडु र पुण्डुचेरीलगायत बिभिन्न ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तमिलनाडु र पुण्डुचेरीका एक हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । चेन्नई र पुण्डुचेरीमा अझै तीन घण्टा भारी वर्षा र तीब्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ । तुफानका कारण दक्षिण–पश्चिम रेलवेले एक दर्जन भन्दा धेरै रेल सेवा आजका लागि बन्द गरेको छ ।
मौसम विभागका अनुसार दक्षिण आन्ध्र प्रदेशको तटवर्ती क्षेत्रमा पनि भारी वर्षा र तीब्र गतिमा हावा चल्ने सम्भावना छ । निवार तुफानका कारण तमिलनाडुका १३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । अहिले चक्रवात उत्तर पश्चिम दिशा तर्फ बढिरहेको छ ।
