तुलसीपुर, मंसिर ५ । मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको पाँच दिन पछि प्रहरीले मोटरसाईकल चालकलाई पक्राउ गरेको छ ।
छिमेकी देश भारतको नानपारा घर हाल तुलसीपुर ५ मा बस्दै आएका ३५ बर्षीय बल्लु हलवाईलाई चैत ३० गते बेलुका साढे ७ बजे अल्फाबेट नखुलेको मोटरसाईकलले ठक्कर दिएर भागेको थियो । हलवाईको उपचारका क्रममा सोही दिन राति ११ बजे बाँकेस्थित नेपालगञ्ज नर्सिङहोममा मृत्यु भएको थियो ।
हलवाईको मृत्यु पछि प्रहरी ठक्कर दिने मोटरसाईकल र चालकको खोजीमा लागेको थियो ।
पाँच दिनको प्रयास र अनुसन्धानवाट इलाका प्रहरी कार्यालय तुलसीपुरले हलवाईलाई ठक्कर दिने मोटरसाईकल र चालकलाई पक्राउ गर्न सफल भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार पाँच दिन पछि तुलसीपुर ५ का ३७ बर्षीय प्रकाश श्रेष्ठले चलाएको ०२–०३–०१० प ३०४७ नम्वरको मोटरसाईकले हलवाईलाई ठक्कर दिएको अनुसन्धानवाट खुल्न आएको जानकारी दिए ।
तुलसीपुर–अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ अल्फाबेट नखुलेको मोटरसाईकलल हलवाईलाई ठक्कर दिएर भागेपछि प्रहरीलाई त्यो ठक्कर दिने मोटरसाईकलको पहिचान गर्न निकै चुनौति भएको थियो ।
दर्जनौं मोटरसाईकको अनुसन्धान गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा शुक्रवार प्रहरीले श्रेष्ठलाई तुलसीपुरस्थित घरवाटै पक्राउ गरेको जानकारी दिएको छ ।
