२०८३ असार १३ गते शनिवार

तुलसीपुरमा वीपीको पुरानो सालिक हटाइदै


दाङ, भदौ १० ।
तुलसीपुरमा नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोईरालाको नयाँ सालिक स्थापना गर्ने प्रक्रिया सुरु भएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीको सम्मानका खातिर यसअघि तुलसीपुरको वीपी चोकमा रहेको अर्धकदको सालिक हटाएर पूर्णकदको सालिक स्थापना गर्न लागिएको नेपाली काँग्रेस क्षेत्र नं. ४ का सभापति जगतबहादुर खड्काले जानकारी दिए ।

पूर्णकदको सालिक तुलसीपुरमा ल्याइसकिएको छ । हालको अर्धकदको सालिकलाई क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा स्थापना गर्नको लागि त्यो निकाल्ने कार्य सुरु भएको सभापति खड्काले बताए । ‘दुई दिन भयो अर्धकदको सालिक निकाल्न श्रमिक लगाएका छौं’ सभापति खड्काले भने । पूर्णकदको नयाँ सालिक स्थापना गर्न पुरानो संरचना सबै हटाउनुपर्ने अवस्था देखिएको उनले बताए ।

‘पूर्णकदको सालिक स्थापना गर्न पुरानो संरचना हटाउनै पर्ने देखियो । हामी बाँकेको त्रिभूवन चोकको जस्तै गरि यहाँ वीपीको सालिक स्थापना गर्ने योजनामा छौं’ सभापति खड्काले भने । महामानव वीपीको जन्मजयन्ती यही भदौ २४ गते पर्ने हुँदा उक्त दिन नयाँ सालिक अनावरण गर्ने गरि तयारी तीव्र पारिएको छ ।

यसैबीच घोराहीमा पनि उक्त दिन नै वीपीको नयाँ सालिक स्थापना गरिने भएको छ । घोराहीको निर्माणाधिन वीपी चोकमा स्थापना गर्ने नयाँ सालिक ल्याइ सकिएको छ । तुलसीपुर र घोराहीमा स्थापना गर्ने दुईवटा सालिक एकैसँगै काठमाडौंबाट ल्याइएको हो । पार्टी सभापति शेरबहादुर देउवा वा महामन्त्री शशांक कोईराला सालिकको उद्घाटनका लागि आउने कुरा रहेको क्षेत्रीय सभापति खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *