
दाङ, साउन २५ । प्रतिनिधिसभाकी समानुपातिक सांसद शान्ता चौधरी शुक्रवार कक्षा ११ मा भर्ना भएकी छिन् । चौधरी नयाँ बानेश्वरसिथत रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् । उनी मानविकी संकायमा भर्ना भएकी छन् । विहान कक्षा भएको हुँदा आँफुले नियमित पढन् जान पाउने आशा गरेकी चौधरीले बताइन । उनले गत वर्ष तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माविमा खुल्ला तर्फ वाट नाम लेखाएर परिक्षा एसईइ परिक्षा दिएकी थिइन । सांसद चौधरीको २.६५ जिपिए आएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ डाँडागाउँ निवासी ४० बर्षीया सांसद चौधरीले दुई वर्ष अगाडि गाउँकै गोग्ली माविमा कक्षा ८ मा भर्ना भएर औपचारिक स्कुले शिक्षा सुरु गरेकी हुन । चौधरीले बाल्यकालमा १८ बर्षसम्म जमिन्दारको घरमा कमलहरी जीवन व्यथित गरेकी थिइन ।

समाजिक सञ्जालमा यस्तो लेखिन
कक्षा ११ मा भर्ना भएपछि सांसद शान्ताले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेकी छन् । प्राय कक्षा ११ मा भर्ना हुने १५ र १६ वर्षको उमेरमा हो । तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो,मुटु समातेर धरधरी रुने बनायो । आज मात्रै नयाँ बानेश्वर स्थित रत्नराज्य मावि को मानविकी संकायमा भर्ना भएको छु ।
दुःखको सागर पौडिदै गरेको मान्छे म , त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालिन नेकपा(एमाले ) अर्थात हालको नेकपालाई हार्दिक धन्यवाद छ । हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई , शुभेच्छुक साथीहरूलाई , आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वहरुलाई । ईच्छा मेरो, साथ तपाईंहरुको । तत्परता मेरो, प्रेरणा तपाईंहरुको । गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु । तपाईंहरुको साथलाई र भनिरहने छु ‘आभारी छु’।
तस्विर – चौधरीको समाजिक सञ्जालवाट
