
दाङ, मंसिर ३ ।
रोल्पामा गुडिरहेको गाडीबाट लडेर एक युवकको र भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका – ३ छापका ३० बर्षीय गणेश घर्ती मगरको गुडिरहेको गाडीको ढोकाबाट लडेर मृत्यु भएको हो । बुधबार बेलुकी सवा ८ बजेतिर सदरमुकाम लिवाङबाट भित्री सडक खण्ड नुवागाउँदेखि जुँगार तर्फ जाँदै गरेको भे १ ज १७६२ नम्बरको इभी गाडीको ढोकाबाट उनी लडेका थिए ।
मगर त्रिबेणी – ५ जनजागृति विद्यालयको गेट नजिकै लड्न पुगेका उनको टाउकोको गहिरो चोट पटक लागेको थियो ।
गम्भीर अवस्थाका उनलाई प्राथमिक स्वास्थ्य चौकी जुँगारको प्रारम्भीक उपचार पछि थप उपचारका लागि प्रहरीले स्वास्थ्य चौकी नेर्पामा पुर्याएको थियो । उनलाई राति नै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
चालक त्रिबेणी – ६ कालापानीका २५ बर्षीय राजु परियारलाई प्रहरीले मध्य राति जिल्ला प्रहरी कार्यालय होलेरी पुर्याएको थियो ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार दिउँसो घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका– ६ खल्टाकुराकी ४५ वर्षीया दिलकुमारी खड्काको जारखोलाको भीरमा घाँस काट्ने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए । उनी स्थानीय भीरमा घाँस तथा खर काट्न भनेर गएको समयमा भीरबाट लड्न पुगेकी थिइन ।

