
तुलसीपुर , असोज २२ ।
नेपाली काँग्रेस शेरबहादुर देउवा समुहले बिहीबारदेखि तुलसीपुर उपमहानगरमा नगर अधिबेशन सुरु भएको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघको तुलसीपुरस्थित कार्यालयमा भएको अधिवेशन जेष्ठ सदस्य भरतराज आचार्यको अध्यक्ष र सो समुहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीको प्रमुख आथित्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले बास्तबिक काँग्रेसको नेतृत्व यही समुहले गर्ने दाबी गरे । विपीले भनेझैं चप्पल लगाउने भूइ मान्छेको अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्नु पर्ने समय आएको उनले बताए ।
कार्यक्रमलाई नेपाल तरुण दल दाङका निवर्तमान जिल्ला अध्यक्ष टीकाराम घर्ती, युवा नेता युवराज खड्का, अधिबक्ता तथा नेपाल बिद्यार्थी संघ दाङका पूर्व अध्यक्ष राजकुमार डाँगी, नेतृ केवलापती चौधरी (कल्पना) लगाएतले सम्बोधन गरेका थिए ।

तुलसीपुर – १३ का पूर्व कार्यबहाक वडाध्यक्ष बिनोद पाण्डेको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर – ५ का पूर्व वडा सदस्य अजय बुढाथोकीले गरेका थिए ।
नेता गिरीसहित तरुण दल अध्यक्ष घर्ती, नेता खड्काहरु संस्थापन पक्षको अधिबेशनमा सहभागी थिएनन् ।
देउवा समुहको काँग्रेसको नगर अधिवेशनमा कतिपय नेताहरु संस्थापन पक्षको निर्वाचनका क्रममा पराजित भएकाहरु पनि उपस्थित थिए ।
नवीन बुढाथोकी बन्दै छन् नगर सभापति
अधिवेशन बाट नवीन बुढाथोकी तुलसीपुरको नगर सभापति बन्न थालेका छन् । बिहीबारको उद्घाटन सत्र पछि बन्द सत्र सुरु भएको र शुक्रबार बिहान आठ बजे पछि त्यो बन्द सत्र मार्फत नगरको नयाँ कार्यसमिति टुँगो लाग्ने जानकारी दिइएको छ ।
स्रोतका अनुसार यसअघिका तुलसीपुर – ५ का वडाध्यक्ष नवीन बुढाथोकी यो समुहबाट सर्वसम्मत नगरसभापति बन्दै छन् ।
त्यस्तै नगर सचिवमा भने पदम बस्नेतको नाममा सहमति भइ सकेको जानकारी दिइएको छ । उनी नेपाल सितोरियो कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन ।
नगर कार्यसमिति सबै सर्वसम्मत गराउने गरि लगभग सहमति जुटिसकेको स्रोतले जनाएको छ । यद्यपी यसको औपचारिक घोषणा भने शुक्रबार मात्रै गरिने भएको छ ।
