काठमाडौं,असोज २१ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदै छ ।
१८ असोजदेखि सुरु महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका चार वटा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ ।
बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव,उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
प्रस्तुत ती प्रतिवेदनहरूमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर आ-आफ्नो धारणा राखिरहेका छन् ।
बन्दसत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको मिडिया सेन्टरले जनाएको छ ।
सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यका अनुसार छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू समेत सहभागी छन् ।
बन्द सत्र सबैको लागि खुला हुने बताइएको छ । यसअघि भएको विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैलाई खुला गरिएको थियो ।
बन्द सत्र बिहान साढे १० बजेदेखि सुरु हुने भनिए पनि केही ढिला गरी सुरु हुने बताइएको छ ।
