काठमाडौं,असोज ६ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली समयअनुसार उनको सम्बोधन असोज ९ गते बिहान हुनेछ।
महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
त्यस अवधिसम्म अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको जिम्मेवारी सम्हाल्नेछन्।
