
दाङ , साउन २६ ।
बिना अनुमति नेपाली सेनाको ब्यारेक माथि ड्रोन उडाएको आरोपमा एक जना युवा पक्राउ परेका छन् ।
यो घटना बाजुराको हो ।
जिल्ला प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ९ का २९ बर्षीय तिलक श्रेष्ठ अनुमति बिना नै जिल्लास्थित नेपाली सेनाको ब्यारेक माथि ड्रोन उडाएको आरोपमा पक्राउ परेका हुन ।
श्रेष्ठले मंगलबार बिहान ११ बजेतिर आँफु खुसी जिल्लाको बडिमालिका नगरपालिका– ८ मार्तडीस्थित नेपाली सेनाको ‘ईश्वरी बक्स गुल्म थापाथली ब्यारेक’ नजिकै ड्रोन उडाएका थिए ।
नेपाली सेनाले आफ्नो ब्यारेकको निषेधित क्षेत्र कैद गर्ने गरि ड्रोन उडाएको बारे सेनाका अधिकारीले जिल्ला प्रहरीमा गुनासो गरे लगतै खटिएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका श्रेष्ठको साथमा ड्रोनको कुनै कागजपत्र समेत फेला परेका छैनन् ।
प्रहरीले ड्रोनसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइ रहेको जनाएको छ ।
