२०८३ साउन १२ गते मङ्गलवार

काँग्रेस बरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

दाङ, साउन १२ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार दिउँसो निधन भएको छ ।
श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा दिउँसो ८३ बर्षको उमेरमा निधन भएको थियो । केही दिन यता उनी सोही अस्पतालमा उपचाररत थिए । श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचार हुँदै आएको थियो ।
सभापति गगन थापाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत नेता श्रेष्ठलाई श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
यद्यपी कांग्रेसले विज्ञप्ति मार्फत श्रेष्ठको निधन बारे जानकारी दिने जनाएको छ ।
साउन ७ गते मात्रै कांग्रेसले श्रेष्ठलाई वरिष्ठ नेतामा चयन गरेको थियो । गत पुसमा भएको विशेष महाधिवेशनमा श्रेष्ठले सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेस प्रजातान्त्रिकमा श्रेष्ठ कार्यवाहक सभापतिसमेत बनेका थिए ।
श्रेष्ठ प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक / पटक गरी ५ वर्ष जति जेल परेका थिए । पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठ स्याङ्जाबाट पटक / पटक सांसदमा निर्वाचित भएका थिए ।
स्वर्गिय श्रेष्ठको सम्मानका लागि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राख्ने भएको छ । त्यहाँबाट शवयात्रासहित पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *