२०८३ असार २१ गते आइतवार

छुटेको ठाउँमा बजेट दिने मुख्यमन्त्रीको प्रतिबद्धतापछि लुम्बिनी प्रदेश सभा बैठक सूचारु

दाङ, असार २१ ।
लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो ।
बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका तथा अपुग भएका योजनालाई विभिन्न माध्यमबाट सम्बोधन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
महत्वपूर्ण आयोजनामा आवश्यक बजेट थप गर्ने, क्रमांगत योजनामा रकमान्तरमार्फत स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक आयोजनालाई बहुवर्षीय योजनामा समावेश गरेर कार्यान्वयन गरिने उनले बताए ।
उनले निर्वाचन क्षेत्रका आधारमा कतै योजना कम वा बढी परेको भए त्यसलाई पनि विभिन्न माध्यमबाट सन्तुलन मिलाइने मुख्यमन्त्री आचार्यले बताए । साना तथा अत्यावश्यक योजनालाई मर्मत सम्भार कार्यक्रममार्फत अघि बढाउने र मन्त्रालयबाट छुटेका योजनालाई समेत सम्बोधन गर्ने तयारी सरकारको रहेको उनको भनाई थयो ।

प्रतिपक्षी दलले उठाएका चासो र चिन्ता सरकारका लागि पनि साझा विषय भएको भन्दै उनले सरकारले सदनमा व्यक्त गरेका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाए । सरकार कुनै पनि विषयलाई नजरअन्दाज गरेर अघि नबढ्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पताल तथा प्रदेश गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए ।
त्यस्तै प्राविधिक विश्वविद्यालय स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक बजेटसमेत विनियोजन गरिएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको बताए ।
रामपुर–कपुरकोट सडक आयोजनाको काम बहुवर्षीय ठेक्कामार्फत अघि बढिरहेको भन्दै उनले बाँकी खण्डको कामलाई पनि सरकारले निरन्तरता दिएको बताएका थिए । प्रदेश गौरवका सबै आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उनले वाचा गरे ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *