काठमाण्डौ ,असार १४ । फिफा विश्वकप फुटबलको समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्षस्थानमा रह्यो । मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो ।
इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो । यो समूहबाट चार अङ्कसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कङ्गो नकआउट चरणमा पुग्न सफल भयो ।
डीआर कङ्गोले उज्बेकिस्तानमाथि ३–१ को पुनरागमन जीत निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो ।
खेलको १०औँ मिनेटमा एल्डोर शोमुरोडोभको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि ६८औँ मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
त्यसपछि ७८औँ मिनेटमा फिस्टन मायेलेले कङ्गोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
अहिले अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिनाबीच खेल हुँदैछ ।