२०८१ असार ३ गते आइतवार

पूर्व–पश्चिम राजमार्गको दाङ सडकखण्ड अवरुद्ध

दाङ ,फागुन २७ । पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड अवरुद्ध भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरुले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका हुन्।

दिउँसो साढे २ बजेबाट आफन्तहरु राजमार्गमा पुगेर सवारी साधन सञ्चालनमा रोक लगाएका छन्। दुर्घटनाको छानबिन गरेर चालकलाई हदैसम्मको कानुनी कारबाही र मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्तिलगायतको माग राख्दै राजमार्ग अवरुद्ध गरिएको हो। प्रहरीले अवरुद्ध राजमार्ग सुचारु गराउन पहल गरे पनि सहमति जुटेको छैन।

दाङको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाइते अटो रिक्सा चालक लमही नगरपालिका– ७ निवासी ३५ वर्षीय विष्णुबहादुर थापाको मृत्यु भएको थियो।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३–०१०२२ च १७५७ नम्बरको स्कार्पियो जिपले विपरीत दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो। लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटीसमेत ठक्कर खाएर दुर्घटना भएको थियो।

प्रहरीले चारवटै सवारीसाधन र स्कार्पियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ वर्षीय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो। दुर्घटनामा परेर घाइते स्कुटी चालक लमही–७ हसनापुर बस्ने वर्ष २१ का विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट छ।

मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ वर्षीय मनिष सार्की, अटोमा सवार सोही ठाउँ निवासी ५५ वर्षीय हरि पुन, भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० वर्षीय पंकज सिंह र भारत उत्तर प्रदेश रामपुर निवासी ५० वर्षीय कश्मिर सिंह घाइते भएका थिए। उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *