२०८१ जेष्ठ ५ गते शनिवार

सामुदायिक विद्यालयका कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती

काठमाडौँ ,साउन ७ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ ।

बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ ।

तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपियाँ चाहिन्छ । गत वर्ष पनि सरकारले बजेट भाषणमार्फत नै कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने घोषणा गरेको थियो । तर अर्थ मन्त्रालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि मात्रै रकम उपलब्ध गराएको थियो ।

कक्षा ६ का विद्यार्थीका लागि थप चाहिने एक अर्ब १५ करोड रुपियाँ पनि अर्थ मन्त्रालयबाट अझै नआएको उपसचिव अर्यालले जानकारी दिए। उक्त रकम मन्त्रालयले सोधभर्ना गरेर विद्यालयलाई पठाएको छ । अर्थ मन्त्रालयका उपसचिव धु्रव पण्डेले गत वर्ष लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको र खर्च कटौती गर्नुपर्ने अवस्था आएका कारण शिक्षा मन्त्रालयले मागे अनुसारको रकम उपलब्ध गराउन नसकिएको बताए।

यस पटक पनि बजेटमा एकथरि घोषणा गर्ने तर व्यवहारमा अर्कै गर्ने प्रवृत्तिका कारण समस्या आएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका योजना महाशाखाका सहसचिव डा। हरिप्रसाद लम्सालका अनुसार दिवा खाजा कार्यक्रमको लागि अपुग रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर सोही वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्याएको थियो ।

बजेटमार्फत गरिएको घोषणा अनुसार रकम उपलब्ध गराइदिन मन्त्रालयले यसअघि पनि पटक पटक अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि रकम प्राप्त भएको छैन ।

दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराइन्छ । यो भनेको दैनिक १५ रुपियाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा हो ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *