सिमकोट,साउन ३० । आर्थिक वर्ष ०७८/०७९ मा सिमकोट गाउँपालिकाको विकासे बजेट पौने आठ करोड फिर्ता गएको पाइएको छ।
काम सुरु हुन नसक्नु, भएको काम पूर्ण नहुनु र गाउँपालिकाले मिलान कोष शीर्षकमा बजेट विनियोजित नगरेको कारण सो बजेट फिर्ता गएको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार गत आवमा गाउँपालिकाको पुँजीगततर्फको सात करोड ७९ लाख ७७ हजार ६७५ रुपियाँ फिर्ता गएको हो।
पुँजीगत बजेट २१ करोड ८९ लाख ८१ हजार १३७ रुपियाँ विनियोजित भएकोमा सो रकम फिर्ता गएको हो। गाउँपालिकाको वार्षिक प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ।
गाउँपालिका अध्यक्ष विजय भण्डरीले बजेट फिर्ता जानुमा मुख्य गरी स्थानीयले काम सुरु गर्न नसक्नु, सुरु भएको काम पूर्ण नहुनु र आन्तरिक स्रोत गाउँपालिकासँग नभएको कारण मिलान कोष शीर्षकमा बजेट बिनियोजित नभएको बताएका छन्।
एक करोड पचास लाख सिमकोट गाउँपालिका-४ को स्याम्ने बस्ती बिस्तारको बजेट फिर्ता गएको छ। त्यसैगरी निर्माण कम्पनीले काम पूर्ण नगरेको कारण मानसरोवर नमुना माविको भवन र सिमकोट रिङरोडको बजेट पनि फिर्ता गएको छ।
यता गाउँपालिकाले पचास प्रतिशत बजेट मिलान कोष हाल्नु पर्ने तीन ठूला योजनाको लागि सो रकम व्यवस्था गर्न नसकिएको कारण बजेट फिर्ता गएको हो।