
रुकुम पश्चिम, मंसिर १४ । रुकुम पश्चिममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । मुसिकोट नगरपालिकाले आफ्नो १४ वटै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण सुरु गरेको हो ।
नगरपालिका ६० बर्ष माथिका दलित र ७० बर्ष माथिका जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन न्यानो ज्याकेट वितरण सुरु गरिएको हो । सोमबार नगरपालिकाको सेरीगाउँ, साँख, चौतारा, चाँपा र सोलाबाङमा पुगेर जेष्ठ नागरिकलाई ज्याकेट बितरण गरेको छ ।
एसपिसी क्यानडाको सहयोगमा मुसिकोट नगरपालिका र नेपाल ख्रिष्टिय राहत सेवा ललितपुरले संयुक्त रुपमा जेष्ठ न्यानो कपडा वितरण गरेका हुन ।
मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले जाडो बढेसँगै जेष्ठ नागरिकलाई थोरै भएपनि राहात पुगोस भन्ने उदेश्यले ज्याकेट बितरण गरिएको जानकारी दिए ।
नेपाल ख्रिष्टिय राहत सेवा ललितपुरका कोषाध्यक्ष मुकुन्द कुमार शर्माले एक हजार ५ सय भन्दा बढी जेष्ठ नागरिक मध्य मुसिकोट नगरपालिकामा सोमबारसम्म ६ सय ५३ जनालाई वितरण गरिएको जानकारी दिए ।
बाँकी जेष्ठ नागरिकलाई यही हप्ताभित्र नगरपालिका अन्तरगतका वडा कार्यालयबाटै बितरण गरिने उनले बताए ।
चिसोमा न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक खुसी भएका छन । मुसिकोट नगरपालिका १३ चौताराकी ७४ वर्षीया भ्यान्टे केसीले निशुल्क ज्याकेट पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन ।
न्यानो कपडा वितरण टोलीमा नगरपालिकाका उप(प्रमुख प्रेम कुमारी सुनार, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ५ का अध्यक्ष सुशिल गौतम, वडा नम्बर ४ का अध्यक्ष निर्मलकुमार पुन, वडा नम्बर ७ का अध्यक्ष हिमबहादुर पाण्डे, वडा नम्बर १३ का अध्यक्ष दीपक केसी, वडा नम्बर १४ का अध्यक्ष भिमबहादुर बिष्ट, महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख भावना शाह, नेपाल पत्रकार महासँघ रुकुमका अध्यक्ष लक्ष्मण केसी लगाएत ज्याकेट बितरणमा सहभागि भएका थिए ।