२०८१ बैशाख १९ गते बुधवार

व्यवसायिक पत्रकारितामा फरक कोण

परिवर्तन भनेकै पुरानोको अवशान र नयाँको जन्म वा निर्माण हो । अनि यसकै निरन्तरता र यो निरन्तरताको निर्माणमा व्यक्तिको कर्म नै इतिहासको जन्मदाता हो । यी सवै कालका सबै व्यक्ति, समाज र सामाजिक सम्बन्ध ऐतिहासिक रुपले निर्माण हुन्छन् । अर्थात् यी सबै मानव जनीत हुन्छन् । यी टुनामुनामार्फत वा व्याख्या नै गर्न नसकिने रहस्यपूञ्जमार्फत निर्माण हुँदैनन् । समाज विज्ञानको सबैभन्दा महत्वपूर्ण यही साश्वत सत्य र वर्तमान अवस्थालाई आत्मसाथ गर्दै समय सापेक्ष हामी फरक कोणका साथ आइपुगेका छाँै ।

पछिल्लो पाँच दशकलाई आधार मान्ने हो भने गएको दुई दशकको अवधिको दर र घनत्व अघिल्लो तीन दशकको भन्दा धेरै नै बढिरहेको अवस्थामा आउने दशकमा आर्थिक, राजनीतिक र साँस्कृतिक परिवर्तन अझ गतिवान् र सघन बन्नेमा कुनै सन्देह छैन । समाज विज्ञानको यो नियमानुसार परिवर्तनशील समयमा असल परिवर्तनका खातिर सञ्चार माध्यमहरु पनि महत्वपूर्ण पक्ष हुन सक्छन् भन्ने हाम्रो अटुट विश्वास हो । यस अर्थमा हाम्रो यो यात्रा आगामी दिनका लागि अझ आवश्यक र अपरिहार्य हुनेछ भन्ने निचोड हाम्रो हो ।

सूचना र प्रविधिको कारणले हामी आज निकै अगाडि छौं । पत्रकारितामा पनि प्रविधिले छलाङ्ग मारेको छ । छापा पत्रिकाको युगबाट हामी आज अनलाइन पत्रिकाको युगसम्म आइपुगेका छौँ । अनलाइन पत्रकारिता एकदमै छिटो पत्रकारिता हो । अनलाइनका माध्यमबाट हामी तुरुन्त समाचार, विचारहरु थाहा पाउन सक्छौँ । नेपालमा पनि अनलाइन पत्रिकाको निकै ठूलो भूमिका र क्रेज बढ्दै गएको छ । तर अनलाइन पत्रकारिताका आफ्नै चुनौति पनि छन् ।

कतिपय अवस्थामा यसको दुरुपयोग पनि बढ्दो छ । हँुदै नभएको कुराहरु लेख्ने, आफूलाई मन परेको मान्छे र साथीहरुलाई एकाएक नायक बनाउने, उनीहरुलाई आदर्श पुरुष बनाउने, हुँदै नभएको पृष्ठभूमि हाली बढाइचढाई गर्ने, आफूलाई मन नपरेको मान्छे आफूसँग असहमत मानिसलाई खेदो खन्ने, उसलाई कमजोर बनाउने, उसलाई बदनाम गर्न खोज्ने, उसको विरुद्धमा माहोल तयार गरी समाचार सम्प्रेषण गर्नेजस्तो काम गरेर अनलाइन पत्रकारिताको दुरुपयोग पनि हुने गरेको छ । जसले पत्रकारिताको निष्पक्षता माथि प्रश्नसमेत उठाउने गरेको छ । यसतर्फ सचेत, सजग हँुदै मर्यादित तवरले अघि बढ्नका लागि फरक कोण सहित हामी उभिएका छौँ ।

समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, शोषण, दमन, अन्याय र अत्याचारविरुद्ध तथा लोकतन्त्रको पहरेदार बनेर आफूलाई सशक्त रुपमा उभ्याउँदै सामाजिक रुपान्तरणका खातिर सूचनाप्रतिको आमजनताको अधिकारलाई स्थापित गर्ने मुख्यध्येय बोकेर हामी लक्ष्यसहितको व्यावसायिक आधुनिक पत्रकारिताको भिडमा फरक कोणका साथ हामी आएका छौँ । दृढ अठोट, नयाँ जोश, निखारसहितको वौद्धिकता र आधुनिक सूचना प्रविधि नै फरक कोणको अचुक अस्त्र हो । उसो त अथाह सम्भावना हुँदाहुँदै पनि राजनीतिक तवरबाट पछि पार्न खोजिएको दाङ जिल्ला र दाङमा पनि पश्चिमी भेग अर्थात् तुलसीपुर क्षेत्रको समग्र विकासमा साझेदारका रुपमा रहने अभिलाषासहित परिस्कृत पत्रकारिताको यात्रालाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रण गर्दै आम पाठकको सहयोग, सद्भाव र स्नेह प्राप्त हुने अपेक्षा गर्दछाँै ।

प्रकाशित मिति : २०७५ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *