
दाङ, जेठ २० ।
नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको जग्गा मिच्यो भनेर दिएको अभिब्यक्ति आधारहिन भएको भन्दै बिरोध गरेका छन् ।
बुधबार दाङको तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा दाङ क्षेत्र नं. ३ ले आयोजना गरेको ‘जरा अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले कुनै नापी बिज्ञ, सीमा बिज्ञ र भूगोल बिदलाई थाहाँ नभएको आधारहिन कुरा प्रधानमन्त्रीले सदनमा बोलेको भन्दै बिरोध गरेका हुन ।
भारत संगको ऐतिहासिक सम्बन्ध बिशिष्ट छ र रहेको भन्दै उनले भारत संग लगाएत छिमेकी देश कसैसंग पनि सम्बन्ध बिग्रन नहुनेमा जोड दिए ।
भारतको एक इञ्च जमिनपनि नेपालले नमिचेको भन्दै अरु देशले पनि नेपालको एक इञ्च जमिन मिच्न नहुने उनले बताए ।
काँग्रेस महामन्त्री घिमिरेले बिभिन्न आयोग र कार्यादलले बनाएको प्रतिबेदनका आधारमा नेपाल र भारतका बीचमा दुई ठाउँमा सीमामा समस्या रहेको भने बताएका थिए । एउटा सुस्ता र अर्कौ कालापानीमा समस्या रहेको उनले औंल्याए । पटक /पटक बनेका आयोग र सीमा बिद बुद्धि नारायण श्रेष्ठ लगाए बौधिक ब्यक्तिले भनेको आधारमा पनि दुई ठाउँ बाहेक अनेत्र कँहीपनि सीमाको समस्या नरहेको घिमिरले बताए ।
‘ अब बालेन्द्रजी उहाँको तेस्रो नेत्र खुलेको जस्तो लाग्छ,’ उनले भने ‘ महादेवको तेस्रो नेत्र खुलेझैं बालेन्द्रजीको प्रधानमन्त्री भएपछि तेस्रो नेत्र खुल्यो उहाँले भन्दिनु भो हामीले पनि भ्याएका रहेछम ।’
तर, त्यो कहाँ हो र के कति हो ? तत्थ र तथ्याङ्क बिना प्रधानमन्त्री शाहले आधारहिन कुरा गरेको महामन्त्री घिमिरेले दोषारोपन गरे ।
उनले राश्वपाका बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहलाई जादुगरको संज्ञा दिदै एउटा किस्सापनि सुनाएका थिए ।
उनले जादुगरले जादुको पुडिया कुँवामा हालेपछि गाउँले बौलाएको र सबैले राजाको उदेश्य सार्थक पारेको जस्तै घटना घटेको बताए । ‘ हाम्रोमा पनि निर्वाचनमा जादुगर आयो गाउँलेको कुवामा जादुको पुडिया खसाइ दियो हामी सबैले पानी पियौं र बौलायौं,’ उनले अगाडि भने ‘ एक चोटी बौलाएको मानिस ठिक हुन्छ नि त संधै बौलाउँछ र ? राँचीपनि छ उपचार गर्ने ठाउँ छ । उपचार सुपचार गरौं फेरि मौका आउँछ ।’ उनले साह्रै काम बिगारेको ब्यक्तिलाई भने पार्टीबाट अलग गर्नुपर्ने र लहलहैमा लागेकालाई संझाइ बुझाई गरि पार्टीमा जोड्नु पर्ने बताए । राणादेखि पञ्चायत हुँदै हालसम्मको राजनीतिक परिवर्तनमा कुनै योगदान नभएको एक थोपा पसिना नबगाएको दल अहिले सत्तामा पुगेपनि काँग्रेस बिना देश उँभो नलाग्ने उनको दाबी थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले पनि प्रधानमन्त्री बालेनले सदनमा नेपालले पनि भारतको सीमा मिचेको छ भनेर दिएको अभिब्यक्ति निन्दनीय र खेद जनक रहेको भन्दै बिरोध गरे ।
प्रधानमन्त्रीको अभिब्यक्ति मुलुकको अपमान र जनताले दिएको भारी जनमतको समेत अपमान भएको उनले बताए । सहमहामन्त्री चौधरीले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन र अनुसन्धान गरि दोषीमाथि कारबाही हुनुपर्ने माग गरे । उनले क्रियाशिल सदस्यता अध्याबधिक गर्ने म्याद अब नथपिने बताए । तर उनले कुनै वडा वा क्षेत्रले मलाई अझैं एक हप्ता वा केही दिन चाहिन्छ भनेर माग गरेमा त्यसको भने सुनुवाई हुने चौधरीले जानकारी दिए ।
कार्यक्रमलाई केन्द्रीय सदस्यहरु केशवराज आचार्य, टेकराज पौडेल, पबित्रा अर्याल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,लुम्बिनी प्रदेशसभापति अमरसिंह पुन, दाङका सभापति शंकर डाँगी, अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि शंकर तिवारी लगाएत, तुलसीपुर नगरसभापति सुरेश हमाल लगाएतले काँग्रेसको बिद्यान संशोधन गर्न जरुरी रहेको बताएका थिए ।
दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव पूर्ण केसीले गरेका थिए ।

