काठमाडौँ,पुस ५ । नेकपा (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।
माओवादी केन्द्रको बिहीवार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिए।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको उनले बताए। प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने पनि जानकारी दिए।
उनले भने– ‘हामीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भनेर निर्णय गरेका छौँ । विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति बनेको छ । समितिमा पम्फा भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, गणेश शाह र राम कार्की रहेको ७ सदस्यीय विधान मस्यौदा समिति बनेको छ । केन्द्रीय समितिको बैठक पनि फागुनको पहिलो साता नै बस्छ ।’
बैठकमा माओवादीको चलिरहेको जनतासँग माओवादी–विशेष रुपान्तरण अभियानको समिक्षा भएको उनले बताए।
अभियानले पार्टीलाई जीवन्त र गतिशिल बनाएको र नेता, कार्यकता र जनताका बीचमा नयाँ ढंगले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालिएको उनले बताए। अभियान प्रभावकारी भएको उनले बताए।
उनले भने– ‘हाम्रो अभियानको समिक्षाको बारेमा अभियान, विगतको अभियानको तुलनामा प्रभावकारी भयो । जीवन्त भयो । चलायमान भयो । गतिशिल भयो । नेता र कार्यकर्ता, कार्यकर्ता र जनताको बिचमा फेरि एकपल्ट नयाँ ढंगले सम्बन्ध स्थापित भयो । र, सारमा भन्दाखेरी जनतासँग माओवादी विशेष रुपान्तरण अभियान निकै प्रभावकारी ढंगले सफल भएको छ । समग्रमा यसले पार्टीलाई पुर्नताजगी बनाएको छ । र सबैलाई सक्रिय बनाउने भुमिका खेलेको छ । पुष १६ गते समापन गर्ने भनिएको छ । यसको समापन पुस १६ गते पालिकाहरुमा वृहत जनपरिचालनसहित समापन हुँदैछ ।’
जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान पुस १६ गते सबै पालिकाहरुमा वृहत जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिए।
प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएको विषयमा कुनै छलफल नभएको बताए।
पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी भने गराएको उनले बताए।