काठमाडौँ,जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरूको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले विद्युतीय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताए ।
उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताए । उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गरे ।
उनले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको बताए । उनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरूले खाली भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताए ।
उनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पारे । तर विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उनको भनाइ छ ।