काठमाडौँ,जेठ ७ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजे बस्नेछ।
बैठकमा सरकारले ल्याएकाे ‘नीति तथा कार्यक्रम’माथि छलफल हुन लागेको हो।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडैलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक २०८०/०८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
राष्ट्रपतिले गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि विचार गरियोस् भनेर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने संघीय सचिवालयले जनाएकाे छ।
यसैगरी, बैठकमा नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सचिवालयले जनाएकाे छ।
यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएकाे छ।
एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।
शनिबार संघीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखेका थिए।