काठमाडौं,बैशाख २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
उनले अर्थतन्त्रको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताए । उनले कोभिड(१९ मा वित्त नीतिबाट पूँजी परिचालन गर्न नसक्दा र मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह हुँदा समस्या भएको बताए ।
अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै त्यसको समाधान लचिलो मौद्रिक नीतिमार्फत गर्नुपर्ने उनले बताए ।
पूँजी प्रवाहका लागि लचिलो मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको अर्थमन्त्री महतले बताए । आर्थिक नीतिमार्फत पूँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनले बताए ।
‘आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजस्वमा व्यापक वृद्धि हुने अवस्था छैन,’ उनले भने, ‘राजस्व अवश्य बढाउँछौं । हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो ।’
उनले लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्ने् बताए ।