२०८१ बैशाख १० गते सोमवार

रविको अभिव्यक्तिप्रति स्वतन्त्र पार्टीभित्रै विरोध

काठमाडौँ ,माघ २३ । सभापति रवि लामिछानेले सार्वजनिक रुपमा दिएको गालीगलौजपूर्ण अभिव्यक्तिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको छ।

आइतबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि लामिछानेले पत्रकार सम्मेलनमार्फत मिडिया एवं पत्रकारहरुप्रति गरेको टिप्पणीबारे राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विरोध देखिएको हो।

आफूले गृह तथा उपप्रधानमन्त्रीमा निरन्तरता नपाएपछि सरकारबाट बाहिरिने निर्णय गराए लगत्तै उनले मिडियाबारे आक्षेपपूर्ण अभिव्यक्ति दिएका थिए। स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘उहाँले जे जति बोल्नु भयो त्यो ठीक गर्नुभएन।’

उनले निर्णयबारे पत्रकार सम्मेलनमार्फत गराउने भन्ने जानकारी बैठकमा गराएका थिए।

‘पार्टी निर्णयबाट जानकारी गराउँछु भन्नुभएको थियो। तर उहाँले पार्टीको भन्दा व्यक्तिगत कुरा बढी गर्नुभयो। विवादित अभिव्यक्ति दिनुभएको छ। यसबारे पार्टीमा कुरा होला,’ ती केन्द्रीय सदस्यले भने।

पार्टी कार्यालय बसुन्धरामा पछाडि पार्टीको ब्यानर राखेर लामिछानेले नागरिकताबारे सर्वोच्चले गरेको आदेश, त्यसका कारण सांसद र मन्त्री पद गुमाउनु पर्दाको आक्रोश मिडियामाथि पोखेका थिए।

करिब डेढ घण्टा लामो सम्बोधनमा लामिछानेले आफ्नो सार्वजनिक हैसियत नै बिर्सिएर स्थापित मिडिया, पत्रकार र सञ्चालकमाथि विभिन्न किसिमका आरोप लगाएका थिए।

पार्टी ब्यानर राखेर लामिछानेले पोखेको व्यक्तिगत आक्रोशलाई स्वतन्त्र पार्टीकै धारणा हो कि होइन भन्ने प्रश्न उठेका बेला पार्टीभित्रबाटै असन्तुष्टि व्यक्त हुन थालेको हो।

केन्द्रीय सदस्य र सांसदहरुलाई बैठक कक्षमा मोबाइल समेत लान नदिएका सभापति लामिछानेले पत्रकार सम्मेलनमा भने तल्लोस्तरमा झरेर बोलेका थिए।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *