२०८३ मङ्सिर १३ गते शनिवार

प्रेस युनियनको धारापानीमा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्त्तरक्रिया

तुलसीपुर, मंसिर १२ ।

नेपाल प्रेस युनियन दाङको आयोजनामा दाङको धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारापानीमा ‘दाङको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम शनिबार भयो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष आरके शितलको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकार विपुल पोख्रेलको प्रमुख आतिथ्यता एवं पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, केन्द्रीय सदस्य लीला शाह, नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियनका नेता एवं केन्द्रीय पार्षद् केपी घिमिरे र केन्द्रीय सदस्य देवेन्द्र बस्नेतलगायतले दाङको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

वक्ताहरूले पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीको चर्चा गर्दै मन्दिर व्यवस्थापन समितिमा रहेर पदाधिकारीले गरेको प्रयास र सञ्चार माध्यमबाट भएको प्रचारप्रसारले धारापानीलाई अहिलेको अवस्थामा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुगेको बताए । उनीहरूले सकारात्मक कामको प्रचार प्रसारसँगै गलत कामको खबरदारी गर्न सञ्चार क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै आवश्यक सहयोग र लगानी जुटाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । पर्यटन विकासको सम्भावना बोकेर पनि ओझेलमा परेका क्षेत्रको पहिचान र प्रचारप्रसार गर्दै त्यहाँको सम्भावना उजागर गर्न सके लगानीका लागि निजी क्षेत्रलाई समेत आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

उनले सञ्चार माध्यमले पर्यटकीय गन्तव्यको सुन्दरता र विशेषताको प्रचार मात्र नगरी त्यहाँको पूर्वाधार, समस्या, आवश्यकता र विकासका सम्भावनालाई समेत सार्वजनिक बहसमा ल्याउनुपर्ने बताए । यसले सम्बन्धित निकायलाई जिम्मेवार बनाउन र पर्यटन विकासका लागि आवश्यक योजना तथा लगानीको वातावरण तयार गर्न सहयोग पुग्ने धारणा राखे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले धारापानीसहित घोराहीको पर्यटन प्रवद्र्धनका लागि धारापानी, उत्तरबाहिनी, बाह्रकुने दह, अम्बिकेश्वरी र गोरक्षनाथ चौघेरालाई जोड्ने गरी एकीकृत पर्यटन विकास योजना बनाउन आवश्यक रहेको बताए ।

उनले विगतमा सञ्चार क्षेत्रको सहयोग र जनस्तरबाट संकलित सहयोगबाट धारापानीमा विश्वकै अग्लो त्रिशूल स्थापना गर्न सफल भएको स्मरण गर्दै अहिले पनि मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माणका काम भइरहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले धारापानीलाई अझ विकसित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नयाँ सम्भावनाको खोजी गर्दै लगानी भित्र्याउनुपर्ने बताए । उनले बबई नदीमा जलाशय निर्माण गरी बोटिङ सञ्चालन गर्न सके पर्यटन विकासमा थप टेवा पुग्ने धारणा राखे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि पछिल्लो डेढ दशकको अवधिमा धारापानीमा उल्लेख्य परिवर्तन भएको भन्दै त्यसमा सञ्चार माध्यमको योगदान महत्त्वपूर्ण रहेको बताए । धारापानीमा भएका सकारात्मक प्रयासको प्रचारप्रसारमा सञ्चार माध्यमले खेलेको भूमिकाकै कारण धार्मिक धामले अहिलेको पहिचान बनाउन सफल भएको उनीहरूको भनाइ थियो।

साथै सहभागीले दाङमा धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना बोकेका धेरै स्थान भए पनि पर्याप्त प्रचारप्रसार र पहिचानको अभावमा कतिपय गन्तव्य ओझेलमा परेको बताए ।
सञ्चार माध्यमले यस्ता स्थानको सम्भावना, विशेषता र महत्त्वलाई समाचार, लेख, तस्बिर तथा अन्य सञ्चार सामग्रीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म र्पुयाउन सके पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने उनीहरूको धारणा थियो ।

नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष अमर क्षितिज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लीलाधर वलीले गरेका थिए । सहभागीलाई धन्यवाद ज्ञापन उपाध्यक्ष यमकला भुसालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *