काठमाण्डौ ,माघ १९ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा नेताको जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाउने तयारी रहेको पार्टी महासचिव देव गुरुङले जानकारी दिए।
यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।
कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।
साथै, आजको बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारेमा पनि छलफल हुनेछ।
प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार