काठमाडौँ ,माघ ४ । नेपाल ट्रेड यूनियन काँग्रेस (एनटीयूसी) को महाधिवेशन आगामी जेठ १२ देखि १४ गते सम्म हुने भएको छ ।
महासंघको यही पुस २९ र ३० गते सम्पन्न केन्द्रीय समितिले पारित गरेको निर्णयहरू सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशन २०८० जेठ १२/१४ गते गर्ने जनाएको छ ।
बैठकले केन्द्रीय अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । समितिका सदस्यमा महासंघ सबै पदाधिकारी एवं सदस्यहरू, सबै आबद्ध संघ , महासंघका प्रदेश तथा जिल्ला अध्यक्षहरु छन् ।
बैठकले फागुन मसान्तसम्म आबद्ध सबै ट्रेड युनियनका सदस्यता निर्धारण गर्ने र चैत मसान्तभित्र संघहरुको अधिवेशन गरिसक्ने योजना बनाएको छ ।
त्यस्तै, जिल्ला अधिवेशन बैशाख ९ र प्रदेश अधिवेशन बैशाख १८ गते गर्ने निर्णय गरेको छ । महासंघले सहजीकरणकालागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।
बैठकले सरकारको निर्णय अनुरुप आगामी वैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन स्थानीय स्तरमा श्रमिकको पञ्जिकरण गर्न तथा उनीहरूका समस्या सम्बोधन गर्न श्रम सल्लाहकार समिति गठन गराउन पहल गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी कांग्रेसको संरचनामा श्रमिक समावेश, दुई तहको निर्वाचन समीक्षा, श्रमिकलाई सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिक समस्याका मुद्दालाई छलफल गर्न कांग्रेसले तत्काल महासमिति बैठक बोलाउन विशेष नीतिका अगाडि बढ्न माग गरेको छ ।
