पोखरा,पुस ३० । गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन शनिबार हुँदैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख चयन गरिने कार्यतालिका छ।
शुक्रबार बसेको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभामुख चयनका लागि बैठक बोलाएका हुन्।
सत्ता गठबन्धनको भागबन्डामा गण्डकीको सभामुख माओवादीको पोल्टामा परेको छ। माओवादीले कृष्ण धिताललाई सभामुख उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता एवम विनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए।
‘सभामुखको उम्मेदवार हामीले प्रस्ताव गर्ने अनि उहाँहरूले समर्थन गर्नुहुनेछ’, उनले भने। गोरखा १ (क)बाट निर्वाचित धितालले दलको नेतामा पनि दावी गरेका थिए। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट उनी व्याक भएसँगै हरिबहादुर चुमान माओवादी संसदीय दलको नेतामा सर्वसम्मत भए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन। नेपाली काग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा सभामुखको उम्मेदवार बन्नलाई कोही इच्छुक नदेखिएपछि संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई उम्मेदवार चयन गर्ने जिम्मा दिएको थियो।
अझैसम्म कसलाई सभामुखको उम्मेदवार बनाउने टुंगो नलागेको पाण्डेले बताए। ‘उम्मेदवार कसलाई बनाउने अब टुँगिदैछ’, उनले भने।
प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सभामुख निर्वाचनको तालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले प्रदेशसभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्नुपर्नेछ।
दिउँसो साढे १ बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ।
दिउँसो ३ बजे प्रदेशसभा नियमावली, २०७४ को नियम ७ बमोजिम प्रदेशसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत हुनेछैन। एक मात्र प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने सूचनामा उल्लेख छ।
नेपालको संविधानको धारा १८२ को उपधारा ९१० बमोजिम प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाले सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ।
प्रदेशसभाको पहिलो बैठक १८ पुसमा बसेको थियो। दोस्रो बैठक शुक्रबार बसेको थियो। शुक्रबारको बैठकले सभामुख र उपसभामुख निर्वाचनको मिति तोकेको हो।
उपसभामुखको निर्वाचन माघ २ गते गर्ने निर्णय गरिएको छ। उपसभामुख गठबन्धनको भागबन्डामा एमालेलाई परेको छ। एमालेबाट पद्मा जिसी र देवका पहारीको उपसभामुखमा चर्चा छ।
पद्मा नवलपुर २ ९क० बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् भने कास्कीकी देवका समानुपातिक कोटाबाट सांसद भएकी हुन्।
शुक्रबारको बैठकमा एमालेबाट मुख्यमन्त्री बनेको खगराज अधिकारीले विश्वासको मत लिएका छन्। उनलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदले विश्वासको मत दिए।
मुख्यमन्त्री बन्नलाई समर्थन गरेको स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ ९दीपक मनाङे० विश्वासको मत दिनलाई उपस्थित भएनन्। नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई एकीकृृत समाजवादी प्रवेश गरेका १ सदस्य छन्।