काठमाडौँ ,पुस २९ । नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
नयाँ बानेश्वरको एक होटलमा शुक्रवार आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताए ।
उनले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे ।
एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवाद (जबज) लाई ध्वस्त बनाएको भुसालको आरोप छ ।
नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले गएको मङ्सिर ४ गतेको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
उनी एमालेका नेता छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
