काठमाडौं ,असोज १० । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको बताएका छन्।
सोमबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको पनि बताए। सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे।
उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए। सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए। उनले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीति बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए।
उनले भने,‘नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ। तत्कालीन फाइदाको लागि भाषण गर्ने प्रवृति छ। कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थका लागि लागेको देखिन्छ। काम गरेर देखाउन एक्सनमा जानुपर्छ। विकासको काममा युवाहरुको सहभागिता बढाउनुपर्छ। युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटनलगायत अन्य विकास अगाडि बढ्न सक्दैन।
अहिले युवाभन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ। स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन्। युवाहरुको क्षमता बाहिर ल्याएका छन्। त्यो ठीक छ। तर अहिलेका लागि पार्टीको विकल्प छैन। राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र पार्टीभित्र युवाहरुले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ।’
सभामुख सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताए। उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए।
उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए। सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्न सके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे।