काठमाण्डौ,बैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौँसम्म आवश्यक रहेको जिकिर गरेका छन । पाँच दलीय गठबन्धनको तर्फबाट आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानको अहिलेको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि देशका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।’
देउवाले सबै मिलेर सत्ता गठबन्धनलाई सफल बनाउनुपर्नेमा जोड दिए । विगतमा आफूले एक्लै चुनावमा जाने रहर गर्दा पराजित भएको बताउँदै उनले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाए ।
कांग्रेसको केही समयअघि सम्पन्न १४ औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको देउवाले जानकारी दिए ।
देशको सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ र अर्को महानगर भरतपुरको मेयरमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उनले मतदातासमक्ष विजयी गराउन आह्वान गरे ।
काठमाण्डौ महानगरको मेयरको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उनले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उनको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गरे ।
त्यसैगरी भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उनले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पारे ।