बागलुङ,चैत २० । सत्ता गठबन्धनमा आबद्ध बागलुङका पाँच राजनीतिक दलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तह चुनावमा पनि कार्यान्वयन गर्ने निर्णय भएको ती दलले जानकारी दिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तह चुनावमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले जानकारी दिए ।
केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादी केन्द्रकी बागलुङ इन्चार्ज वलावती शर्माले बताइन् ।
आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले १० जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।