बिराटनगर,मंसिर २३ । शपथको महिना दिन पुग्दा पनि प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले हालको पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मंसिर १ मा बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएको दिन बढीमा दुई साताभित्र मन्त्री परिषद बिस्तार हुने उनले बताएका थिए ।
निवर्तमान मुख्यमन्त्री भीम आचार्यले ७ मन्त्रालयमा ८ मन्त्रीमार्फत् काम गर्दै आएका थिए । गत कात्तिक १६ मा राई मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै भागबन्डा मिलाउन मन्त्रालय बढाएर कम्तिमा ११ पुर्याउने तथा मन्त्री र राज्यमन्त्रीसहित १३ मन्त्री बनाउने योजना प्रदेश सरकारको छ ।
प्रदेश १ सरकारले मन्त्रालय टुक्राउने तयारीसहित आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । मन्त्री आङ्बोले अहिलेकै खर्चमा थप गरिने मन्त्रालय पनि सञ्चालन गर्ने गरी अध्ययन प्रतिवेदन तयारी गर्ने काममा कार्यदल जुटेको बताए ।
उनले सरकारलाई आर्थिक व्यायभार नहुने गरी काम गर्न अनावश्यक कार्यालय गाभ्ने योजना सुनाए । साथै, सोही कार्यालयको सवारी साधन तथा कर्मचारीलगायतका व्यवस्थापनको काम गर्ने गरी कार्यदलले काम अघि बढाएको बताए ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग र पर्यटन गरी दुई मन्त्रालय बनाइनेछ । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा र खेलकुद गरी दुई मन्त्रालय बनाउने तयारी छ । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि र सहकारी मन्त्रालय दुईवटा अलग मन्त्रालय बनाउने प्रदेश सरकारको तयारी छ ।