तुलसीपुर,मंसिर ३ ।नेकपा माओवादी केन्द्रको वडा निर्वाचन शनिबारदेखि सुरु हुने भएको छ । निर्वाचनको पुर्व सन्ध्यामा प्रेस सेन्टर नेपाल तुलसीपुर उपमहानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्र लुम्बिनी प्रदेश निर्वाचन संयोजक रामशरण चौधरीले शनिबारदेखि सुरु हुने भेला तथा निर्वाचनको तयारी पुरा भएको जानकारी दिए ।
उनले लुम्बिनी प्रदेशका सबै वडामा निर्वाचन गर्न सम्पर्क कार्यालय स्थापना भइसकेको बताए । माओवादी पार्टी पहिलो पटक वडा तहमा निर्वाचन प्रणालीमा जान थालेको हो । मुलुक संघीयतामा गए संगै सोही अनुसार कमिटीलाई सक्रिय बनाउन निर्वाचन प्रणालीलाई सुधार आवश्यक ठानेर वडा अधिबेशन गर्न थालेको चौधरीले बताए ।
अब टोलदेखि माथिजसम्म लोकतान्त्रिक पद्धतिबाट निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिने उनले जानकारी दिए । केन्द्रले कार्तिक २७ गते वडा भेला सम्पन्न गरेको थियो ।
उक्त पार्टीले लुम्बिनी प्रदेश बाट १ लाख २२ हजार ८ सय ८८ जना सिक्रिय सदस्य रहेको बताएको छ । दाङमा १९ हजार ६ सय ७३ जनाले निर्वाचनमा प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ । प्रेस सेन्टर नेपाल तुलसीपुर उपमहानगरका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।