काठमाडौँ, साउन ११। जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन ।टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।
उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ ।
चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो ।
हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।