२०८१ फाल्गुन ६ गते मङ्गलवार

पूर्व कमाण्डरको ‘प्रचण्ड’लाई खुल्ला पत्र

आदरणीय प्रचण्ड कामरेड अभिवादन !
जनयुद्धको उद्गमथलो रोल्पाबाट तपाइलाई आज एउटा पत्र कोर्दै छु । सर्वप्रथम मेरो परिचय तपाई समक्ष राख्न चाहन्छु ।
मेरो नाम टिकाराम वली हो । जनयुद्ध बेला मलाई पार्टीले ‘क. टाइगर’ उपनाम दिएको थियो । २०५४ सालमा म भूमिगत भएको थिए । भूमिगत हुँदादेखि नै जनमिलिसियामा भर्ती भएको थिए । अर्थात् जनयुद्धको सिपाही हुँदा नै जनमुक्ति सेना बनेको हुँ । युद्धका विभिन्न मोर्चाहरु गरी ५२ वटा लडाईका मोर्चामा प्रत्यक्ष सहभागी भएको छु ।

पाँचौ ब्रिगेडअन्तर्गत स्पेशल टाक्स फोर्स १ नम्बर बटालियन कमाण्डर थिए ‘म’ । अहिले म घाइते पनि छु । सल्यान श्रीगनर लडाईमा टाउकोमा गोली लागेको थियो । अझै त्यही गोली बोकेर मृत्यु पर्खेर बसिरहेको छु । टाउकोबाट गोली झिक्न नमिल्ने अवस्थामा छु । सेना समायोजन हुँदा अवकास प्राप्त गरी, वाइसिएलको जिम्मेवारी लिएको थिए ।

अहिले दुई तिहाइ बहुमतको सरकार र पार्टीको अध्यक्षमा विराजमान गराउन यो परिवारको अहम् भूमिका थियो । तर तिनै परिवारको सदस्य पत्रकार गोपाल चन्दले तपाईको बारे समाचार साभार गरेर लेख्दा किन जेल हाल्नु भयो ?


जनयुद्धका महान् योद्धा किम बहादुर थापा ‘सुनिल’ कमरेडको शहादत भएको रोल्पा जिनाबाङको मनिमारे नजिकै मेरो घर छ । सिङ्गो जनयुद्दलाई पाल्ने कामरेड किरण अर्थात् भर्खरै पक्राउ परेका गोपाल चन्दको घर पनि त्यहि नजिकै छ । पत्रकार गोपाल चन्दका बाबा हुन् कमरेड किरण । यत्ति परिचय दिएपछि सायद तपाईले मलाई चिन्नुभयो होला । अहिले मेरो हालत कस्तो छ र हिजोको मेरो इतिहास के थियो भन्ने बारे आगामी दिनमा विस्तार गरौला । खासै म मिडियाबाजी गर्दै हिड्ने मान्छे पनि हैन ।

पत्रकार गोपाल चन्द तपाईको गृहमन्त्री राम बहादुर थापा बादलको आदेशमा प्रकाउ भएको खबर पाएपछि मुख खोल्नै पर्ने भयो । तिनै प्रकाउ परेका पत्रकार गोपाल चन्द र उनको परिवारले जनयुद्धमा गरेको त्याग तपस्याबारे अवगत गराउन चाहन्छु ।

एउटा उखान छ, ‘जुन थालीमा खाना खाइयो त्यही थालीमा दिसा’ गर्ने मानिसको अहंकारी प्रवृति हो । ठ्याक्कै त्यही प्रवृति तपाईमा देखेर, तिनै सिंगो जनयुद्धलाई सेल्टर दिने परिवारको सदस्यलाई आज सत्तामा पुगिसके पछि हत्कडी भिराई जेलनेल गरेको देख्दा म टुलुटुलु हेरेर बस्न सक्दैन ।

हिजो संकटकालमा तपाईले तिनै पत्रकार गोपाल चन्दको घरमा सेल्टर लिनुभएको थियो । त्यहि घर परिवारको परिचय गराउन चाहन्छु ।
रोल्पा जिल्लाको तत्कालीन जिनाबाङ गाविस अहिले गंगादेव गाउँपालिका वडा नम्बर ३ पर्छ । सल्यान गुराँसे बस्तीसँग जोडिएको झ्याम डाँडा छ । जुन ठाउँमा जनयुद्धका कयाँै मोर्चा सम्हाल्दा तपाईले धेरै पटक त्यो ठाउँमा सेल्टर ल्याएर बस्नुभएको पनि हो ।

तपाईलाई अवगत हुनुपर्छ, तत्कालिन शाही सेनाले सल्यान गुराँसेको भिडन्तपछि, गुराँसेको सम्पूर्ण बस्ती जलाएर खरानी बनाएको थियो । जुन बेला म पनि प्रत्यक्ष गुराँसे लडाईमा थिए । त्यहि नजिकै झ्याम डाँडामा चूडामणि ओली कामरेड आदर्शको घर छ ।

तिनै कामरेड आदर्शको घरदेखि तल झारमंग्रा भन्ने ठाउँ छ, जहाँ माहुरीका घारहरुले घेरिएका स–साना झुप्राहरु छन, त्यहाँ प्राकृतिक माहुरीपालन हुन्छ किन कि बाह्र जथाकको घना जंगल भएको हुँदा माहुरीपालन सजिलो भएको हो । त्यहि ठाउँमा क्षेत्र बहादुर चन्द कामरेड ‘किरण’को सानो झुपडी थियो, अहिले पनि छ ।

तपाईको जनयुद्धको जीवनशैलीबारे म नजिकबाट जानकार छु । किन कि कयाँै पटक तपाईको सुरक्षाको लागि घेरा दिएर अहोरात्र काला रातहरु कटाएको सिपाही हँु । म मर्न चाहेर पनि तपाईलाई बचाउन एकमुठी प्राणलाई हत्केलामा राखेर मृत्युसँग सौदाबाजी गरेको छु ।


त्यहि झुपडीमा केबल चारजनाको सानो परिवार थियो । कमरेड किरण, उहाँको धर्मपत्नी र साना दुईजना बालबालिका । तिनै बालबालिकामध्यका छोरा हुन् गोपाल चन्द । उनकी बहिनी गीता चन्द हुन् । उनीहरु अहिले जवान भएका छन् । तपाई अहिले राजधानीमा ब्यापारी ठेकेदारको घरमा घाँटी जोडेर मार्सी भात खानु हुन्छ । उनीहरुलाई खान लाउनलाई अझै धौ–धौ (समस्या) पर्छ तर जेनतेन काठमाडौँ मै पढ्दैछन् ।

भक्तपुरमा बसेर तिनै संघर्ष गरिरहेका गोपाल चन्द जनपक्षीय पत्रकारिता गर्छन् । सायद नेताहरुको पक्षमा नलेख्नु अर्थात सिंहदरबारको पक्षमा कलम नचलाउनु, अझ भनाँै कमरेड प्रचण्डको पक्षमा कलम नचलाउनु उनको महागल्ती हो । तिनै जनयुद्धमा त्याग तपस्या गरेका बालक अहिले प्रचण्ड कमरेडको समाचार लेख्दा हत्कडी भिरेर हिरासतमा छन् ।

जतिबेला उनको घर सिंगो जनयुद्धको सेल्टर थियो । त्यहिबेला उनका मामा खकेन्द्र ओली जनयुद्धमै सहिद भएका थिए । कपुरकोटको लडाईमा आफ्नै कान्छा मामाको शहादत भयो । आफ्नो घर सेल्टर दिएर जनयुद्धको रक्षा गर्ने त्यहि परिवारको सदस्यलाई जेलमा कोच्नु भएछ । सकिन्छ भने अब झुण्ड्याई दिनुहोला । हिजो कलम चलाएकै भरमा इक्छुक पनि मारिएका थिए ।

त्यहि तपाइलाई सेल्टर दिएर बचाउने परिवारको बारे बुझाउन चाहन्छु । जब जनयुद्ध सुरु भयो, प्रतिक्रियावादी राज्य सत्ताले जनयुद्ध सिध्याउन हरेक तानावाना बुने । त्यहिबेला जनयुद्धका केन्द्रीय नेतादेखि सामान्य कार्यकर्तासम्मलाई सेल्टर दिएर संरक्षण दिने घर परिवारमध्ये रोल्पाको चन्द परिवार पनि एक हो । नपत्याए त्यहाँको समाजलाई गएर सोध्नु होला, समाजले देखेको कुरा बताई दिनेछ ।

उनको घरमा प्रचण्ड २०५६÷५७ सालतिर सेल्टर लिएर पनि बस्नु भएको थियो । बाबुराम, पोष्ट बहादुर बोगटीदेखि जनयुद्धका चर्चित नेताहरुले सेल्टर नलिएको सायदै कोहि नहोलान । एक पटक होइन पटक–पटक ! हालका मन्त्री बर्षमान पुनका श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्ती ‘उषा’ सुत्केरी हुँदा चन्द परिवारले नै संरक्षण गरेर राखेको थियो । आफ्नो छोरी जन्मिदा २०५५÷५६ सालमा सुत्केरी ओनसरी घर्तीलाई छोरी बुहारी बनाएर लालनपालन गरेको हो पत्रकार गोपाल चन्द परिवारले ।

उनकी छोरी सायद अहिले ठूली भइन होली । तिनैलाई पिठ्यूँमा बोकेर सम्हाल्ने पहिलो दाजु तिनै गोपाल चन्द हुन् । म त भन्छु जन्मदा गोधमा बोकेर माया दिने दाजु गोपाल चन्दलाई भेटेर छोरीले आशीर्वाद ग्रहण गरे, जीवन मार्गमा सकारात्मक सोच पलाउने छ । ओनसरी घर्ती ज्यूले सुत्केरी हुँदा चन्दको घरमा कयौं रातहरु गुजारेकी थिइन् । प्रहरी आउँदा उनको नाबालिकालाई सुरक्षा दिएर ओनसरी घर्तीलाई जंगल भगाएर सुरक्षा गरेका दृश्यहरु ताजै छन्, त्यहाँको जनता जनार्दनलाई थाहा छ । सायद यो गुणलाई ओनसरी घर्तीले कसरी बुझ्नु भएको छ उहाँलाई थाहा होला, कि त मन्त्री बर्षमान पुनलाई थाहा होला ।

जब म २०५८ फागुन ६ गते सल्यान श्रीनगर प्रहरी चौकी रेड गर्दा घाइते भए । तब ६ महिनासम्म तिनै पत्रकार गोपाल चन्दको घरमा सेल्टर लिएर बसेको थिए । मलाई ६ महिनासम्म परिवारले सेवा गरेको मैले बिर्सेको छैन । गोलीले लागेर छटपटाई रहेका मेरा घाउहरुमा मलम पट्टि लगाई दिने जनयुद्दको घर थियो । म मात्र होइन म जस्ता कयाँै घाइते अपांगलाई संरक्षण सुरक्षा र सेवा दिएको छ उनको घरपरिवारले ।
२०५७ सालमा उपक्षेत्रीय ब्युरोको बैठक बस्ने कतै पनि सेल्टर नपाउँदा तिनै गोपाल चन्दको घरमा बैठक बसेको थियो । जुनबेला प्रहरी प्रशासन तथा सुराकीहरुको बिगबिगी थियो ।

नेता तथा कार्यकर्ताहरुलाई सेल्टर दिएको शाही सेनाले थाहा पाउँदा २०५७ मै सल्यान जिल्लाबाट आएको शाही सेनाको टोलीले उनको घर आगो लगाई दिएको थियो । जुनबेला ५०० भन्दा धेरै नेता तथा कार्यकर्ता उनको घरमा सेल्टर लिएर बसेका थिए । शाही सेनाले थाहा पाएपछि उक्त घरमा आउँदा सबै जङ्गल भागेर बचेका थिए तर तिनै ७÷८ बर्षका नाबालक गोपाल चन्दले साहसीपूर्वक आगो लागिरहेको आफ्नो घरलाई पानी हालेर बचाएका थिए ।

जुनबेला उनी र बहिनी गीता चन्द मात्रै घरमा थिए । शाही सेनाले आगो लगाउँदा जलेको घरको निसानी अझै भेट्न सकिन्छ । यसरी समग्र जनयुद्द र जनयुद्दका नेता, कार्यकर्ता, घाइते सेना, जनयुद्धका सुत्केरीहरुलाई सेल्टर दिएर सिंगो जनयुद्धको रक्षा गर्ने उनको पुरानो घर उस्तै यथावत छ, अझै फेरिएको छैन । बरु थोत्रिएको छ ।

प्रचण्ड कमरेडको महल छ तर उनको परिवार अझै उही पुरानो थोत्रिएको घरमा बास छ ।
अब भन्नुहोस् कमरेड !
के यस्तो हबिगतको पीडा त्यो घर परिवारलाई छैन होला ? सानो बालापन मै घरमा आगो लागेर जल्दै गर्दा, जल्दै गरेको घर बचाउने त्यो बालक गोपाल चन्दको मन स्थिर होला त ?
आखिर युद्धमा सर्वस्व गुमाएर के पायो त्यो परिवारले ?
उनका बाबा क्षेत्रबहादुर चन्द ‘किरण’ २०४८ सालदेखि राजनीतिमा लागेका थिए । २०५४ सालदेखि प्यूठानमा सरुवा भएर बाहिर जिल्लामै १० बर्षे राजनीतिक जीवन गुजारे ।

जेलनेलले कलम रोकिदैन ! आस्थाहरु कहिलै मर्दैनन् ! यो त तपाईले सिकाएको रक्तबीज हो । बरु समाचार लेख्दैमा गोपालहरुलाई झुण्ड्याउनु होस् । गद्दारीको हिसाब किताब खोज्न सयाँै गोपालहरु जन्मिने छन् ।


आदरणीय कमरेड प्रचण्ड !
पत्रकार गोपाल चन्दको परिवारले जनयुद्धलाई दिएको त्याग, तपस्या र योगदानको बखान जति ग¥यो उति कम हुन्छ । उनको परिवारले जनयुद्धको लागि कति त्याग र समर्पण ग¥यो भन्ने कुरा उनको घर वरिपरि रहेको समाजले बताउने छ ।

वास्तवमा तपाईको नेतृत्वको जनयुद्धलाई जोगाउन अहोरात्र त्याग तपस्या गरेर, जनयुद्धलाई सुरक्षित राजधानीमा अवतरण गराउने परिवारमध्ये चन्द परिवार पनि एक हो । फलस्वरुप आजसम्म आउँदा तपाई सिङ्गो देशको दुई÷दुई पटक प्रधानमन्त्री हुनुभयो । छोरीलाई चितवनमा मेयर बनाउनुभयो । बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाउनु भयो । तर जनयुद्धको सेल्टर घरले के पायो ? जेल र नेल हैन ?

अहिले दुई तिहाइ बहुमतको सरकार र पार्टीको अध्यक्षमा विराजमान गराउन यो परिवारको अहम् भूमिका थियो । तर तिनै परिवारको सदस्य पत्रकार गोपाल चन्दले तपाईको बारे समाचार साभार गरेर लेख्दा किन जेल हाल्नु भयो ?

उनको घरपरिवारलाई एक पटक हेर्नु होला । कुन दुःख र संघर्ष गरेर जीविका उपार्जन गर्दैछन् । कमरेड किरणले जनयुद्धको जर्जरपूर्ण अवस्थालाई छिचोल्दै, छोरा गोपाल चन्दलाई गाउँकै सामान्य स्कुलमा पढाएर १० कक्षा पास गराए । अहिले काठमाडौँमा जसोतसो दुःख गरी अध्यन गर्दैछन् । उनीसँग रोजगार छैन । बेरोजगार युवा काठमाडौँमा बसेर पढ्न कति कठिन छ । त्यो सबैभन्दा तपाईलाई नै थाहा छ ।
तिनै पत्रकार गोपाल चन्दलाई समाचार लेखेको आरोपमा हिरासतमा हाल्नुपर्ने तपाईको कुन नैतिकता हो कमरेड ?

सत्ता, शक्ति र पावर आफ्नो हातमा आएपछि सिङ्गो जनयुद्धलाई संरक्षण दिने परिवारमाथि नै जेलनेल गर्ने कुन नैतिकताले तपाईलाई दियो ?
म अहिले पनि टाउकोमा गोली बोकेर मृत्युलाई पर्खेर बसेको छु । मैले विभिन्न मोर्चामा गरी ५२ वटा लडाईमा प्रत्यक्ष सहभागी भएको छु । खासगरी अहिलेसम्म तपाईबारे ‘म’ मौनतामा थिए । मिडियाबाजी गरेर कहि कतै बोलिन । बरु हजुरको राज्य सत्तालाई मौनताको पर्दा पछाडिबाट चुपचाप नियालेर हेरिरहे ।

तपाईमाथि के–के प्रहार प्रयास भए भन्ने विषय सत्य छ भन्ने कुरा म जगजाहेर गर्न चाहन्छु. त्यो कसरी भने ?
तपाईको जनयुद्धको जीवनशैलीबारे म नजिकबाट जानकार छु । किन कि कयाँै पटक तपाईको सुरक्षाको लागि घेरा दिएर अहोरात्र काला रातहरु कटाएको सिपाही हँु । म मर्न चाहेर पनि तपाईलाई बचाउन एकमुठी प्राणलाई हत्केलामा राखेर मृत्युसँग सौदाबाजी गरेको छु ।
रोल्पामा सिस्नो ढिडो खाएर बाँचेको तपाईको जिन्दगी हो । कठोर संघर्ष गरेर जनयुद्धको नेतृत्व गरेको योद्धा हो ।

तर तपाईको आजको जीवनशैली पनि मैले गज्जबले नियालिरहेको छु । मैले मात्र होइन दुनियाँले नियालिरहेको छ । म जस्ता जनमुक्ति सेनाहरुलाई बेचेर तपाईले खाएकै हो । १७ हजार शहिदको रगतको अवमूल्यन तपाईले गरेकै हो । जनयुद्धप्रति घात भएकै हो । यति भन्न नपाउने ?

फलस्वरूप पदम कुवरले तपाईको देब्रे गालामा झापड दिएको दुनियाँ जानकार छ । तपाईमाथि धारे हातहरु कयाँै पटक प्रहार भैरहेका छन् । त्यसकारण म भन्छु, अब प्रचण्डलाई के–के प्रहार हुन्छन् त्यो सामान्य कुरा हो । यो सब तपाईको आजको जीवनशैलीले निम्त्याएका घटना परिघटनाहरु हुन् ।

आज ‘प्रचण्ड माथि पूर्व कार्यकर्ताले के–के प्रहार प्रयास गरे ?’ भन्ने समाचार कतैबाट साभार गर्दा जनयुद्ध बचाई राख्ने परिवारको पत्रकार गोपाल चन्दलाई हिरासतमा राख्नुभयो । यसको परिणाम भयानक हुनसक्छ । जेलनेलले कलम रोकिदैन ! आस्थाहरु कहिलै मर्दैनन् ! यो त तपाईले सिकाएको रक्तबीज हो । बरु समाचार लेख्दैमा गोपालहरुलाई झुण्ड्याउनु होस् । गद्दारीको हिसाब किताब खोज्न सयाँै गोपालहरु जन्मिने छन् ।

अन्तरमा यो देशमा कानुन भन्ने चिज छ कि छैन । समाचार प्रसारण गर्नु झुठो थियो भने पनि कानुन र प्रक्रियाअन्तर्गत सजाय दिने ब्यवस्थामाथि किन ठाडो हस्क्षेप गर्दैछ तपाईको गृहमन्त्रालय ? बादलको निर्देशनमा नाङ्गो हस्तक्षेप गरेर किन गिरफ्तार गराउनु भयो ? के गोपाल राष्ट्रघाती, नदीनाला बेच्ने अपराधि हुन् ? कि निर्मला पन्तको हत्यामा सामेल छन् ?

निर्मलाको न्याय दिन निदाउने तपाईको प्रशासकले समाचार लेख्ने पत्रकारलाई किन पक्राउ ग¥यो ? कम्युनिष्ट सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि किन अंकुश लगाउने काम भयो ? प्रचण्ड कमरेडले संविधानमा लेखिएको कानुनलाई किन दुरुपयोग गर्न भयो ?
पत्रकारको मुद्दा हेर्ने निकाय प्रेस काउन्सिल छदैछ, उक्त प्रक्रिया मिचेर सिधै प्रहरीद्वारा गिरफ्तार गरी हत्कडीसहित हिरासतमा राख्ने अधिकार तपाईको कुन कानुनको पानामा उल्लेख छ ?

सत्ता शक्तिको दुरुपयोग गर्न तपाईलाई कसरी छुट भयो ? यो कुरा पनि याद राख्नुहोला ! निरंकुशताको पराकाष्ठाले तपाईकै गलपासो हुने निश्चित छ । बेलैमा चेतना भया …
उही पूर्व जनमुक्ति सेना नेपाल, बटालियन कमाण्डर ‘टाइगर’

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *