२०८१ भाद्र २३ गते आइतवार

तिजको पवित्रता समाप्त नपारौं

प्रेमप्रकाश वली

कुनै बेला हाम्रा चाडपर्व आउँदा रौनक बेग्लै हुन्थ्यो । मनमा खुसी र उत्साह थपिन्थ्यो । तर समयसँगै हाम्रा गतिविधि फेरिएका छन । जीवनशैली फेरिएका छन ।
समयको माग हो, सामान्य परिवर्तन भइरहन्छ र त्यो जायज पनि छ ।

तर हिँड्दैछ पाइला मेट्दैछ भनेजस्तै जति–जति समय गतिशील बन्दैछ त्यति हाम्रा मौलिक संस्कार संस्कृति मेटिँदै छन् । विसंगतियुक्त समाजको निर्माण हुँदैछ ।

सन्दर्भ तीजकै लिउँ । तीज हिन्दु नेपाली समाजमा महिलाहरूको महान चाड हो । तीज पर्वको ऐतिहासिक प्रारम्भ त्रेता युगमा भएको मानिन्छ । हिन्दू धर्मशास्त्र अनुसार महादेव र पार्वतीको पवित्र मिलनको रुपमा स्मरण स्वरूप तीज पर्व मनाइन्छ । देवी पार्वतीले महादेवसँग विवाह गर्ने मनोकामनासहित कठिन तपस्या गरेकी थिइन ।

उनको तपस्याबाट प्रसन्न भएर महादेवले उनलाई आफ्नो अर्धनङ्गिनीका रूपमा स्वीकार गरेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ । पार्वतीको तपस्या र समर्पणलाई सम्मान गर्दै महिलाहरुले आफ्नो परिवारको सुख शान्ति र समृद्धिका लागि व्रत बस्न थालेको विश्वास गरिन्छ ।

तर पछिल्लो समय भने तीज पर्वको मौलिकता गुम्दै गएको छ । मौलिक बाजा गाजा , सुसंस्कृत संगीत र परम्परागत नृत्यलाई विस्थापित गर्ने होडवाजी चलिरहेको जस्तै भान हुन्छ । छाडा गीत र नृत्यको प्रविधि हावी हुँदै गएको छ। तीजको अवसरमा बजारमा आइरहेका गीत परिवार सँग बसेर सुन्न र हेर्न नसकिने खालका हुन थालेका छन् ।

तीजमा आयोजित दरखाने कार्यक्रमको अवस्था हेर्दा त लाग्छ कुनै डान्स बारमा आएर मातिएका युवा युवतीको जमात हो । दर खाने नाममा धुम्रापान, मध्यपान र मांसहारी प्रवृत्तिको प्रदर्शनीको होडवाजी छ । अब त्यस्तो मातेको तालमा मौलिक नृत्य (राम्रो र हाम्रो नृत्य) हुने कुरै भएन बरु अश्लिलता मात्रै पर्दशन हुन थालेका छन् । मलाई यस्तो लाग्छ, त्यहाँ संस्कार, संस्कृति र कला भन्दा बढी उत्तेजना र भड्किलोपना मात्रै पर्दशन भइ रहेको हुन्छ । यस्तै जमात बढ्दै गए हाम्रा मौलिक परम्पराm कला र संस्कृति कहाँ पुग्लान । चिन्ता यहीँनेर छ ।

सामान्यतया दर तीजको अघिल्लो दिन महिला दिदीबहिनी
जमघट भइ आपसमा दुःख सुख साट्दै तीजको दिन वर्त बस्दा ऊर्जा भण्डारण गर्न अघिल्लो रात खाइन्छ । दरमा दुधबाट बनेका परिकार रोटी तरकारी फलफूलका परिकार हुन्थे । खासमा हुनुपर्ने यही हो ।

अग्रजहरुका अनुसार उतिखेर माछा मासु जन्य कुरा सेवन गरिँदैनथ्यो। त्यसको परम्परागत र मौलिक स्वरूपमा महिलाहरूले सारी,गुन्यौ, चोलो पहिरेर परम्परागत भजन किर्तन गाउँदै नाचगान गर्दै आफ्ना दुःख सुख साटासाट गर्थे। परिवार भित्रै रहँदा पनि महिलाहरूको स्वतन्त्र र समानताको मुद्दालाई यस पर्वले सम्बोधन गथ्र्यौ ।

वर्तमानमा भने त्यसको विपरीत हुँदै गएको छ । तडक भडकपूर्ण दर कार्यक्रमले वर्गीय असमानतालाई अप्रत्यक्ष असर पारिरहेको छ। महिलाहरूको आत्मसम्मान संस्कृति र परम्परालाई चोट दिने पर्व हामीलाई चाहिएको हैन । त्यसमाथि व्यर्थको प्रतिष्पर्धा, मादक पदार्थको प्रयोग र अनावश्यक तडकभडकले झनै विकृति निम्त्याएको छ । ती तडक भडक देख्दा तीज पर्वको पवित्रता पनि समाप्त हुँदै गएको भान हुन्छ ।

हाम्रो संस्कार र परम्पराको बिशिष्ट पहिचान छ । आज यस्तो लाग्छ ती चिज केवल बाहिरी प्रदर्शनमा ,संगीतमा र कपडामा मात्र निर्भर गराउन खोजिदैंछ । बास्तमा त्यो राम्रो मान्न सकिदैन । त्यो सही हैन र छैन । कुनैपनि पर्वको मूल भावना आस्था संस्कार र सामाजिकता हो ।

यो आफ्नो तडकभडक पूर्ण मनस्थिति देखाउन प्रयोग गर्ने पर्व होइन । बरु एक परम्परागत सभ्य र मौलिक पर्वको रुपमा विकास गर्न आवश्यक छ । पछिल्लो समय सार्वजनिक भएका छाडा गीत, संगीत र नृत्य हर्ने र सुनी नसक्नु छन् । त्यस्ता छाडाहरुलाई नियमन गर्दै हामीले आफ्ना छुट्टै संस्कृतिको निर्माण गर्नुपर्ने बेला आएको छ।

त्यस्ता विकृतिलाई रोक्न सांस्कृतिक चेतनाको विकास परम्परागत मूल्यको पुनस्र्थापना र सामाजिक जिम्मेवारीको प्रचारप्रसार गर्न आवश्यक छ। तीज पर्वको वास्तविक महत्वलाई बुझ्दै आफ्नो संस्कृति र परम्परालाई बचाउन हामी सबैले आआफ्नो स्थानबाट योगदान दिन अति जरुरी भइ सकेको छ । तीज पर्व कुनै रत्तौली होइन । र त्यो बनाउनेहरु बिरुद्ध सचेत बर्ग खबरदारी गर्न चुक्नु हुन्न ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *