२०७८ बैशाख २८ गते मङ्गलवार

भारतीय साम्राज्यवादी भाइरस

हेमन्त वली ।
विश्व यतिबेला कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त बनिरहेको छ । चिनको बुहान प्रान्तबाट फैलिएको यो भाइरसले २१२ भन्दा बढी देशहरुका करिब ४० लाख भन्दा बढी मानिसहरुमा संक्रमण देखिसकेको छ भने २ लाख ७७ हजार भन्दा बढी मानिसहरूको ज्यान गैसकेको छ । बिश्वका शक्तिशाली रास्ट्रहरुलाई समेत हैरान पारेको यो भाइरसले नेपाललाई पनि संकटग्रस्त अबस्थामा पुर्याएको छ । तथापी दुई छिमेकी देश भारत र चिनमा भन्दा नेपालमा संक्रमित संख्या निकै कम रहेको छ भने अहिलेसम्म देशभित्र रहेका नेपाली नागरिकले ज्यान गुमाउनु परेको छैन ।

तर रोजगारिको शिलशिलामा बिदेशिन पुगेका दाजुभाईहरुको झन्डै एकसय जतिले ज्यान गुमाइसकेका छन। बिलकुलै नयाँ प्रकृतिको यो भाइरसको औसधि उपचार खोप सम्भब नभैरहेको यो अबस्थामा बिश्वका अधिकांश देशहरुले लकडाउन मार्फत आफ्ना नागरिकहरु सुरक्षित बनाइरहेका छन। हाम्रो देशमापनि चैत ११ गते लकडाउन रहँदै आएको छ । यहि लकडाउनकै समयमा सत्ता लुछाचुडिका घिनलाग्दा अभ्यासहरु पनि नभएका होइनन। दुई तिहाइको कम्युनिस्ट सरकार दिनदिनै असफल, जनबिरोधि र फासिस्ट बनिरहेको छ।

कहिले अध्यादेश त कहिले सांसद अपहरण जस्ता जघन्य अपराध राज्यका उच्च पदस्थ ब्यक्तिहरुबाट हुनुले सरकारको अपराधिक मुकुन्डो उदांगो भएको छ। लाखौ जनताहरु भोकभोकै छन। श्रमजिबि जनताहरु, गरिब किसान, मजदुरले काम गर्न नपाउदा निकै कष्टकर जिवन झेलिरहेका छन। राहात बितरणमा भ्रष्टाचार ब्याप्त छ। गुणस्तरहिन राहात सामाग्री बितरण गरिएको छ भने वास्तविक श्रमिकहरुलाई भन्दापनि आफ्ना कार्यकर्ता,जनप्रतिनिधिका ब्यक्तिगत कोठामा चामलका बोराहरु थन्काएर राखिएका छन। यो लकडाउनको समयमा मजदुरहरु घर फर्किन सकिरहेका छैनन् ।

देश विदेशका सडकहरुमा मजदुरहरु रोइरहेका छन। सरकारसंग उनीहरु घर फर्किन पाउने अधिकार मागिरहेका छन। रोजगारिका शिलशिलामा भारतमा भएका मजदुरहरुको सिमानामा बेहाल अबस्थामा छन। विपदको समयमा आफ्नो देशमा बस्न पाउनु प्रत्येक नागरिकको अधिकार हो। माहाकाली वारि आफन्तको अन्तिम संस्कारमा सहभागी हुन नपाएकाहरु छन् ।यो देशमा राज्य छ कि, छैन ? भन्ने सम्म आभास भइरहेको छ । यो संसदीय ब्यबस्थाको सत्ता लुछाचुडीले आम नागरिकमा निराशा र आक्रोश छाएको छ। यति सम्म लाज लाग्दो हर्कत गर्छन कि पुर्ब आइजिपिहरुले सांसद अपहरण गर्छन र मुख्य योजनाकारमा प्रधानमन्त्री केपी शर्मा ओली लगाएत उनका मन्त्रीहरुको नाम जोडिन्छ। पिडित पक्ष जाहेरी दिन जादा प्रहरीले जाहेरी नै लिन मान्दैन। कसरी मान्न सकिन्छ यो देशमा कानुनि राज छ, भनेर?

कोरोनाको संक्रमण पछि देशले निकै ठूलो आर्थिक मन्दी बेहोर्नु पर्नेछ। देशमा लाखौ मजदुरको रोजगारी गुम्ने खतरा प्रष्ट देखिन्छ। उधोगधन्दा,कलकारखानाहरु लामो समयदेखि बन्द अबस्थामा रहेका छन। निजी,सरकारी सम्पुर्ण संस्थाहरु पुर्ण रुपमा बन्द छन। बिद्यार्थीले नियमित पढ्न पाएका छैनन्। ब्यबसायिहरु ब्यबसाय सन्चालन गर्न पाएका छैनन । तर दलालहरु रातदिन आफ्नो सत्ता टिकाउन अनेक हर्कत गरिरहेका छन। स्वास्थयकर्मी, सुरक्षाकर्मीहरु, बिज्ञहरु रातदिन कोरोनाको अध्ययन अनुसन्धानमा जुटिरहेका छन। सबैभन्दा बिजोग दिनभरी काम गरि खाने मजदुरको छ। उनीहरुले न उचित काम पाएका छन न त राहात नै। कोरोना भाइरसका बिषयमा जनचेतना फैलाउन हिडेका नागरिकलाई समेत पक्राउ गर्ने काम भइरहेको छ।दिनदाहाडै राजनीतिक आस्थाको आधारमा निर्दोष नेता कार्यकर्ता गिरफ्तार गरिएको छ। कोही उपचार गर्न गएका अस्पतालबाटै र कोही भने घरमा आराम गरिरहेको अबस्थामा गिरफ्तार गरिएको छ।

राजनीतिक प्रतिसोध साँधेर दलाल राज्यले विभिन्न हर्कतहरु सञ्चालन गरिरहेको छ। कोरोनापछिको सम्भाबित समस्या हल गर्न राज्यले अहिलेसम्म कुनै गृहकार्य नै गरेको छैन। केपीका डन मन्त्रीहरू सामाजिक सञ्जालदेखि विभिन्न मिडियासम्म लाज पचाएर अझै उल्टै साँडेझै उफ्रिरहेका छन् । ७० करोड घुस्याहा गोकुल बास्कोटालाई समेत बचाउ गरेर यो सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ। निर्मला हत्याकाण्ड , वाइडबडी जस्ता विभिन्न काण्डहरुको संरक्षण गरेको यो सरकारले राजनीतिक आस्थाकै आधारमा प्रहरी मुडभेडको नाममा दर्जनौ नागरिकको हत्या गरेको छ। हत्या, हिंसा, बलात्कार,भ्रष्टाचार जस्ता जघन्य अपराधहरुको संरक्षण र सञ्चालन गरेको कम्युनिस्ट सरकार लुटेरा सरकार हो। राष्ट्रबादी शक्तिहरुलाई निस्तेज पार्न दिनदिनै व्यापक प्रहरी दमन गरिरहेको छ। यही बेलामा भारतीय साम्राज्यवादको सिमा अतिक्रमणले देशको सार्वभौमसत्ता माथि नै प्रश्न चिन्ह खडा भएको छ । यहि बैशाख २५ गते भारतले नेपालको भुमी गुन्जी,लिपुलेक हुदै धार्चुला चिनको मानसरोवर जोड्ने सडकको भारतीय रक्षामन्त्रीले भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरेको घटनाले नेपाली सार्बभौमिकता,स्वाभिमान माथि आँच पुगेको छ ।

देशमाथि यति ठूलो अतिक्रमण हुँदा समेत परराष्ट्र मन्त्रीले आफुलाई केही थाहा नभएको कुरा गर्दै हिडेका छन् । परराष्ट्र मन्त्रालयले जारी गरेको एउटा निम्छरो बिज्ञप्तिमा मिति, पत्रसंख्या, हस्ताक्षर,चलनी नम्वर केही पनि उल्लेख छैन। भारतले गरेको यो अभ्यास नेपालको सार्बभौमिकता, स्वाधिनता, र भौगोलिक अखन्डता माथिको पहिलो हमला भने होइन।

सन १९५० को असमान सन्धिदेखि नै भारतले नेपाल माथि विभिन्न ढंगले हस्तक्षेप गर्दै आएको छ। ८० किलोमिटर सडक निर्माण गरि भारतले फेरि आफ्नो दास मानसिकताको मुकुण्डो उदांगो पारेको छ।

बेलायती दासत्वबाट मुक्त भएको करिब ७ दाशक बितिसक्दा पनि भारत दास मानसिकताबाट मुक्त हुन सकेको छैन। सदियौंदेखि नेपाललाई हेप्ने र हेपाहा प्रवृत्ति, मिचाहा प्रवृत्ति भारतको रहँदै आएको छ । समग्र बिश्वनै सर्बाधिक संकटमा जुधिरहेको घडिमा यस प्रकारको अतिक्रमणले त्यस कुराको पुष्ठि गर्छ। भारतीय साम्राज्यवादले अन्तराष्ट्रिय सन्धिको पनि धज्जि उडाएको छ । विगतमा नेपाली जनतामाथि लादिएको नाकाबन्दी अन्तराष्ट्रिय सन्धिको विपरित थियो ।

सुगौली सन्धिपछि स्वतन्त्र राष्ट्रबाट अर्धऔपनिबेशिक मुलुकमा परिणत भएको हाम्रो देश अंग्रेज साम्राज्यवाद संग शक्तिशालि लडाई पछि हजारौं नेपालीको मृत्यु सहित सुगौली सन्धि गर्न बाध्य भएको थियो। सुगौली सन्धिपश्चात नेपाली राजनीतिको इतिहासमा राज्यसत्ता बचाउनको निम्ति राष्ट्रघाति सन्धि सम्झौताहरु गर्ने, बिदेशीको गुलामी गर्ने दलाल प्रवृत्ति हाबी हुन पुग्यो।इतिहासमा भएका थुप्रै आन्दोलनहरुको अवतरण भारतीय स्वार्थ ,सहमति र मध्यस्थतामा नै हुने गरेको पाइन्छ। जंगबहादुर राणाको उदय,राणा बिरोधि आन्दोलन, पछिल्लो राजतन्त्र विरुद्धको आन्दोलन सबैको अवतरण भारतकै रोहबरमा भएको छ।

यही बलमा भारतले नेपालको राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा लगाएत आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरिरहेको छ। विभिन्न सम्झौंताहरु कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सम्झौता, महाकाली सम्झौता, बिप्पा सम्झौता आदी बिबिध सम्झौताले नेपाललाई पराधिन बनाइरहेको अवस्था छ । बिमानस्थलमा मार्शल राख्ने,मोदी सरकारले चीन संग गरेको लिपुलेक सम्झौताको केही समय नबित्दै भारतले एकलौटी रुपमा गरेको सडक उद्घाटन नेपालीको स्वाभिमान माथिको ठाडो हस्तक्षेप हो।

हालसम्म भारतले नेपालको ६६ स्थानमा अतिक्रमण गरेको छ । जसमा कुल ९६ हजार बिघा जमिन अतिक्रमित भएको छ। कालापानीमा भारतीय सेनाले आफ्नो अड्डा जमाएको छ । पुर्बमा टिष्टा,पश्चिममा सतलज, उत्तरमा तिब्बतको सिङगात्से, लुम्ते र दक्षिणमा गंगा किनारसम्म फैलिएको विशाल नेपाल सुगौली सन्धिपश्चात मेची–महाकालीमा खुम्चिन पुगेको छ ।

राजनीतिक क्षेत्रमापनि भारतीय साम्राज्यवादले हरेक पार्टी,सत्ता र सरकारलाई आफ्नो पकडमा राख्ने र दलाल बनाउने र नसके हत्या गर्ने र त्योपनि नसके मुल शक्तिबाट अलग गर्ने गरेको छ । आर्थिक क्षेत्रमा उधोग ब्यापार,श्रम र उत्पादन सम्बन्धलाई नियन्त्रण कायम गरेको छ। सैन्य क्षेत्रमा भारतीय साम्राज्यवादले सुरक्षा सम्झौता मार्फत सैन्य क्षेत्रमा हुने हस्तक्षेप र सहयोगका नाममा आफ्नो प्रभाब जमाएको छ । त्यही भएर हाम्रो देश प्राकृतिक स्रोत साधनले सम्पन्न हुदापनि भिख मागेर बाच्नुपर्ने स्थिति उत्पन्न भएको छ। नेपाली सत्ताका मतियारहरु जनताप्रति समर्पित,प्रतिबद्ध छैनन् । बरु बैदेशीक मालिकहरुको गुलामी र आफ्नो राज्यसत्ता बचाउन जस्तो सुकै सन्धि सम्झौता गर्न तयार हुनुले नै हाम्रो यो अबस्था भएको हो ।

दैनिक २२ सय नेपाली बिदेशीनु परेको छ। शिक्षा र स्वास्थ्य जनताको पहुंच भन्दापनि दलाल र माफियाको हातमा छ। भ्रष्टाचारले सिमा नाघेको छ। निर्यातको तुलनामा आयातको अनुपात आकाश–जमिनको फरक छ। सामाजिक बिकृति बिसंगति बढिरहेको छ । यी समस्याको एउटै कारण दलाल पूँजिबादी संसदीय ब्यबस्था नै हो । तसर्थ कोरोना माहामारीको संकटमा माहामारी संगसंगै भारतीय साम्राज्यवादी भाइरस र नेपाली दलाल पूँजिबादी संसदीय ब्यबस्थाका भाइरसका विरुद्ध निर्मम संघर्ष गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *