दाङ, बैशाख ६ ।
सल्यानमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।
दुर्घटनाका १४ घाइते मध्य १० जनाको बाँकेको नेपालगंजमा उपचार जारी छ ।
दुर्घटनाका घाइते मध्य बनगाड कुपिन्डे नगरपालिका – ८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० बर्षकै ठगे घर्ती , २९ बर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको सल्यानका प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
सल्यान जिल्ला अस्पताल खलंगा पुर्याउँदा तीन जनालाई चिकित्सकले राति दश बजेतिर मृत घोषणा गरेका थिए ।
मनबहादुरको भने उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा राति पौने ११ बजेतिर मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता भट्टराइका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ । उनीहरुको बाँकेको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचार जारी छ । त्यस्तै थप ८ जनाको पनि बाँकेको नेपालगंजस्थित सञ्जिवनी हस्पिटलमा उपचार भइ रहेको छ । चार जना भने उपचार पछि डिस्चार्ज भइ सकेको उनले बताए ।
शनिबार बेलुकी साढे ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिकाको – ८ थारादेखि कालिमाटी गाउँपालिका – १ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिन्डे नगरपालिका – १२ पुथलामा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । भौगोलिक विकटताका घाइतेहरुको उद्धार गर्न झन्डै ४ घन्टा जति समय लागेको थियो ।
जिप सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।