२०८१ मङ्सिर २७ गते बिहिवार

सोरठी नाच ब्युँझाउने प्रयास


सल्यान, २ मङ्सिर ।
लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा सल्यानमा पहल थालिएको छ । विभिन्न स्थानीय तहले मौलिक कला, संस्कृित संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएकाहरु व्युँझने कोसिस गरेका छन् । युवा पुस्ता पनि सोरठी सिक्ने प्रयासमा छन् ।
पुरुषले महिलाको भेषमा नाच्ने कलात्मक सोरठी नाच सल्यान जिल्लाको पहिचान मानिन्छ । तर यो नाच पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले दशैँ, तिहार, मेला, पर्व, विवाह, ब्रतबन्ध आदिमा यो नाच प्रस्तुत हुन्थ्यो । पछिल्ला पुस्ताले त सोरठी कुन चराको नाम हो भनेर सोध्लान जस्तो भइसकेको छ ।

यद्यपि सोरठी नाच कुनै–कुनै गाउँमा जीवितै छ । जिल्लाको पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरी, चैवाङ, मार्के, रीम, गर्पा, धनवाङजस्ता क्षेत्रमा यो नाच केही बुढापाकाले बचाइरहेको छन् । यस्तै सल्यानको गाडापानीमा दलित समुदायले यो नृत्यलाई संरक्षण गरेर राखेका छन् । पिमखोलाबाट सोरठी नाच सिकेको जनाउँदै ७५ वर्षिय श्यामलाल विकले यसपटक तिहार र दशैँमा सोरठी नाच गाउँमा नाचिएको बताए । यस्तै गाडापानीकै रामलाल विकले हरेक वर्ष आफ्नो गाउँमा सोरठी नाचिने र पछिल्ला युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने कार्य चलिरहेको जनाए । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको संगीत र लयको बारेमा पछिल्लो पुस्तालाई पनि जानकारी हुन आवश्यक रहेको सोरठीका संरक्षणकर्ता तथा वरिष्ठ बाद्यवादक खर्क बहादुर बुढा बताउँछन् ।यस जिल्लाको सोरठी निकै लोकप्रिय मानिन्छ ।

केटा मान्छे केटीको पहिरनमा नाच्ने सोरठी सल्यानको विशेष संस्कृति र कला हो । यसमा मारुनी, पुरुसुङे, मालदे तथा नचारुहरुको बेजोड प्रस्तुतीले जो कोहीको पनि मन लोभिन्छ । यसर्थ सोरठी नाच पनि सल्यानीको धरोहर र पहिचान हो ।

बुढा भन्छन्, ‘थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था पनि आइसकेको छ । त्यसैले यस तर्फ सचेत हुनु पर्छ ।’ गाडापानीका युवा क्षेत्रबहादुर विकले यो तिहारमा सबैले एकैखाले पोशाक व्यक्तिगत रुपमा किनेर लगाई सोरठी नाचिएको बताए । उनले भने, ‘हामी हाम्रा मौलिक संस्कृति हराउने स्थितिमा नजाउन भनेर संरक्षणमा जुटेका छौँ । संस्थाकै रुपमा दर्ता भएर सोरठी तथा वनगाडी नाच जगेर्ना गर्ने अभियानमा लागेका छौँ ।’ सोरठीकै संरक्षणका लागि भन्दै गाडापानीका युवक धन बहादुर विकले मारुनीका लागी दुई जोड पोशाकसमेत सहयोग गरेका छन् ।

कस्तो छ सल्यानको सोरठी ?
सल्यान जिल्लामा नाचिने सोरठीमा दुईजना मारुनी र एकजना पुरुसुङे हुन्छन् । केटा मान्छे नै केटीको पहिरनमा मारुनी बनेका हुन्छन् । यस्तै यस नाचमा तीनजना मादले हुन्छन् । सल्यानको हकमा हेर्ने हो भने क्षेत्रीहरुको सोरठी नाचमा सहभागिता केही बढी देखिन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतिर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।

सोरठीका विभिन्न चरणहरु रहेका हुन्छन् । सल्यानमा ५२ चरण गाउने गरेको पाइन्छ । तर पछिल्लो समय यो घटेर १२ देखि १५ चरणसम्म सीमित रहेको वरिष्ठ बाद्यवादक खर्क बुढाले बताए । उनले भने, ‘शुरुको चरणलाई समेर्ने चरण भनिन्छ । सोरठी नाचमा दैवीय शक्ति छ भन्ने पनि विश्वास गरिन्छ । किनकी शुरुको चरण समेर्ने चरणमा केही व्यक्ति काप्ने गर्छन् । समेर्ने चरणमा सरस्वतीलगायतका देवीदेवतालाई पुकार्ने भएकाले सरस्वती चढ्ने व्यक्ति काप्ने गर्दछन् ।’ नाच अन्त्य गर्दा नियम अनुसार मारुनी, पुरुसुङे, मादलेलगायतले आफूले पहिरिएका नाचका पोशाकहरु नाच्दै क्रमैसँग फुकाल्ने गर्दछन् । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ । समाजमा सानो, ठूलो, जातभात, धनी गरिब नभनीकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भन्नुहुन्छ बुढा ।

पछिल्ला दिनहरूमा रोजगारीको शिलशिलामा युवाहरू विदेश पलायन हुने वाध्यताले पनि गाउँका यी लोकप्रिय नाचहरू पनि विस्तारै हराउँदै जान थालेको आभाष हुन्छ । केहि स्थानीय तहहरुले सल्यानमा मौलिकता जोगाउन सानो–सानो प्रयास गरेको देखिन्छ । तर पर्याप्त छैन । लोप हुनुभन्दा अगाडि नै जगेर्ना गर्ने जमर्को नगरे भोलि लोप भएर गइसकेपछि केही गर्न सकिन्न । यसका लागि सरकारी तवरबाट र कला संस्कृतिसँग सम्बन्धित निकायले चासो देखाउन र पहल गर्नु जरुरी छ । पछिल्ला सन्ततीहरु पनि सोरठीको खोजीमा र यो नाच सिक्नतर्फ अग्रसर हुनुपर्छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *